सुनसरी — सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका बासिन्दा दिनप्रतिदिन मोबाइल सञ्जाल समस्याबाट पीडित हुँदै गएका छन्। नेपाल टेलिकम (एनटिसी) र एनसेल जस्ता प्रमुख मोबाइल सेवा प्रदायक कम्पनीहरूको लापरवाहीका कारण पालिकाभर मोबाइल नेटवर्क अत्यन्त कमजोर र अविश्वसनीय बन्दै गएको छ।
स्थानीयको गुनासोअनुसार मोबाइलमा फोन आउँदैन, कल गर्न खोज्दा नेटवर्क टिप्दैन। नेटवर्क भेटिए पनि आवाज टुटफुट हुने, एकातिरको आवाज नसुनिने, वा सम्पर्कै नमिल्ने जस्ता समस्या सामान्यजस्तै भएका छन्। विशेषगरी विद्युत आपूर्ति बन्द हुने बित्तिकै सञ्जाल पूर्णरूपमा गायब हुने गरेको छ, जसले इमरजेन्सी समयमा समेत नागरिकलाई गम्भीर संकटमा पारिरहेको छ।
त्यसैगरी, डाटा सेवा झनै निराशाजनक अवस्थामा छ। इन्टरनेट सेवा नाम मात्रको छ – न समयमा मेसेज पठाउन सकिन्छ, न त आवश्यक जानकारी खोज्न। विद्यार्थी, व्यापारी, सरकारी कर्मचारीदेखि पत्रकारसम्म सबै जनजीवन यस समस्याबाट प्रत्यक्ष प्रभावित छन्।
वर्षौंसम्म सेवा सुधारको आश्वासन दिँदै आएका एनटिसी र एनसेलले स्थानीयका गुनासा सुन्नु त परै जाओस्, प्राविधिक टोलीसमेत पठाउन चासो देखाएका छैनन्। यस्तो लापरवाही व्यवहारप्रति जनआक्रोश बढ्दो छ।
“फोन काटिए जस्तो हुन्छ, घण्टी घन्टौँ नबज्ने, डाटा अनभएजस्तै। यस्तो सेवा दिने हो भने किन सेवा उपलब्ध गराएको भनेर प्रश्न उठेको छ,” एक स्थानीय सामाजिक अगुवाले प्रतिक्रिया दिए।
गाउँपालिका र स्थानीय प्रशासनसमक्ष पटक–पटक उजुरी दिइए पनि समस्याको समाधान भएको छैन। यथाशक्य चाँडो संरचना सुदृढ गर्न र सेवा स्तरीय बनाउन सम्बन्धित निकायलाई दवाब दिनुपर्ने स्थानीयको माग छ।
यदि यथाशीघ्र सुधार नगरिए, आन्दोलनको बाटो समाउने चेतावनी समेत दिन थालेका छन्।










Discussion about this post