गढी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, गढी गाउँपालिकाको समन्वय तथा ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)को आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी सहायक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
गढी गाउँपालिकाको कार्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा अपाङ्गता भएका नागरिकहरूलाई हिँडडुलमा सहजता ल्याउने उद्देश्यले ह्विलचियर, वाकर, बैसाखी लगायतका सामग्रीहरू वितरण गरिएको हो।
कार्यक्रममा सम्बोधन गर्दै वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको एक अविभाज्य अङ्गका रूपमा स्वीकार्नुपर्नेमा जोड दिए। उनीहरूका अनुसार, “अपाङ्गता कुनै कमजोरी होइन, यो केवल एउटा अवस्था हो। यस्तो अवस्थामा रहेका दाजुभाइ–दिदीबहिनीहरूलाई पछाडि पार्ने होइन, समावेशी र आत्मनिर्भर बनाउने वातावरण निर्माण गर्नु हामी सबैको सामूहिक दायित्व हो।”
कार्यक्रमका एक वक्ताले भावुक अभिव्यक्ति दिँदै भने, “आज वितरण गरिएका सहायक सामग्री—ह्विलचियर, वाकर र बैसाखी—दैनिक जीवनलाई सहज बनाउने एउटा सानो प्रयास हो। तर, यस्ता पहलहरूलाई निरन्तरता दिन सकिएमा मात्र समता र सम्मानमा आधारित समाज निर्माण सम्भव हुन्छ।”
उक्त अवसरमा गढी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान अभिवृद्धि गर्न आगामी दिनहरूमा थप कार्यक्रमहरू संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, फरवार्ड संस्थालाई विशेष धन्यवाद दिँदै सामाजिक सहकार्य र उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको भन्दै सराहना गरिएको छ।










Discussion about this post