इनरुवा । ‘समावेशी समाज, समान अवसर’ भन्ने मूल नारालाई आत्मसात् गर्दै अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज, सम्मानजनक र आत्मनिर्भर बनाउने उद्देश्यले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर तथा विभिन्न सहायक सामग्रीहरू वितरण गरिएको छ।
कार्यक्रमको आयोजना सुनसरी अपाङ्ग संघ, भोक्राहा नरसिंह गाउँपालिकाले गरेको हो। कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगरको सहकार्य तथा साझेदारी रहेको थियो।
उक्त कार्यक्रममा अपाङ्गता भएका सेवाग्राहीहरूलाई ह्वीलचेयर, छडी, श्रवण यन्त्र, वाकरजस्ता सहायक सामग्रीहरू वितरण गरिएको थियो। सामग्री वितरणपश्चात् सेवाग्राहीहरूको अनुहारमा देखिएको खुसीले कार्यक्रमको सार्थकता झल्किएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष श्री अजमल अख्तर आजादले भने,
“अपाङ्गता भएका नागरिकहरू समाजका अभिन्न अंग हुन्। उनीहरूलाई आत्मसम्मानका साथ बाँच्न सक्ने वातावरण तयार पार्न पालिका प्रतिबद्ध छ।”
यस्तै, प्रमुख प्रशासकीय अधिकृत विनोद घिमिरेले पनि कार्यक्रमको सफलताप्रति सन्तोष व्यक्त गर्दै भने,
“सहकार्य र सहमतिका माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण र पुनर्स्थापनाका लागि यस्ता कार्यक्रम प्रभावकारी माध्यम हुन्।”
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हिरालाल साह, महिला विकास शाखाकी प्रमुख तुलसा निरौला, अपाङ्गता सहजकर्ता रेनु कुमारी मेहता तथा सिभिआर (CBR) सहजकर्ता आरती मेहताको सक्रिय सहभागिता रहेको थियो।
स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा लाभग्राहीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले यस्तो कार्यक्रमले अपाङ्गता भएका व्यक्तिप्रतिको जिम्मेवारी, दायित्व र संवेदनशीलतालाई झल्काउने बताएका थिए।
सेवाग्राहीहरूले पनि सहयोगप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने जनाउँदै संस्थागत स्थायित्व र पहुँचको माग गरेका थिए।










Discussion about this post