विराटनगर । आफ्नै पार्टीका वडाध्यक्षलाई मिटरब्याजको पासोमा पारेर जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेस कटहरी गाउँपालिका सभापति रामकुमार कामत अन्ततः जग्गा फिर्ता गर्न सहमत भएका छन् । पीडित वडाध्यक्षले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको र सोसम्बन्धी समाचार सार्वजनिक भएपछि दबाबमा परेका कामतले असार १६ गते जग्गा र नगद फिर्ता गर्ने लिखित सहमति गरेका हुन् ।
कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामतले गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका रामकुमारबाट आफू ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङमा ‘अनुचित लेनदेन’को उजुरी दर्ता गराएका थिए । त्यसपछि रामकुमारले कटहरी गाउँपालिका–३ को वडा कार्यालयमा भएको छलफलमा जग्गा फिर्ता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
वडा कार्यालयले प्रमाणीकरण गरेको सहमतिपत्र अनुसार, रामकुमारले धरौटीबापत लिएको जग्गामध्ये कित्ता नम्बर ८९० को १६९.३० वर्गमिटर जग्गा जदुलाललाई फिर्ता गर्ने उल्लेख छ । साथै, ब्याजबापत लिएको रकममध्ये ४ लाख रुपैयाँ नगद फिर्ता गर्न पनि उनी राजी भएका छन् ।
सहमति हुनुअघि रामकुमारले जग्गा फिर्ता गर्नका लागि थप २३ लाख रुपैयाँ मागिरहेका थिए । तर, विवाद बाहिरिएपछि उनी आफूले लिएको रकमबाटै ४ लाख फिर्ता गर्न तयार भएका हुन् । पीडित जदुलालका अनुसार बाँकी जग्गा हाललाई रामकुमारले नै भोगचलन गर्ने गरी सहमति भएको छ ।
यो घटना २०७४ सालमा सुरु भएको थियो । वडाध्यक्ष जदुलालले रहेमान मियासँग ६८ लाखमा जग्गा किन्ने निधो गरे, तर उनीसँग ४८ लाख मात्र थियो । बाँकी २० लाख रुपैयाँ उनले बद्री चौधरीसँग सापटी लिए र जग्गा चौधरीकै नाममा पास गरिदिए । केही महिनामै चौधरीले पैसा फिर्ता मागेपछि जदुलालले तत्कालीन गाउँपालिका अध्यक्ष रहेका रामकुमारसँग गुहार मागे ।
रामकुमारले २१ लाख रुपैयाँ दिएर चौधरीको नामको जग्गा आफ्नी श्रीमती रुणादेवी कामतको नाममा ल्याएर धितो सकार्ने आश्वासन दिए । तर, त्यसपछि नै जग्गा कब्जाको खेल सुरु भयो । जदुलालको दाबीअनुसार, उनले ऋणको सावाँब्याज गरी रामकुमारलाई पटक–पटक गरेर साढे ३५ लाख रुपैयाँ बुझाइसकेका थिए । तर, जग्गा फिर्ता माग्दा रामकुमारले थप २३ लाख रुपैयाँ मागेर मानसिक तनाव दिइरहेका थिए ।
पीडित जदुलाल र आरोपी रामकुमार दुवै नेपाली कांग्रेसका नेता हुन् । जदुलाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् भने रामकुमार पार्टीको गाउँपालिका सभापति छन् । जदुलालले पार्टीभित्रैबाट समस्या समाधान गर्न सांसददेखि मन्त्रीसम्मलाई गुहारे । तर, उनको समस्या समाधान नभएपछि उनी प्रशासन कार्यालय र संचारकर्मीसँग पुगेका थिए ।
रामकुमारले भने जदुलालसँग गरेको सहमतिको कागज पनि लुकाउन खोजेका थिए । किनभने, उनीविरुद्ध अरू मिटरब्याज पीडितले पनि उजुरी दिएका छन् । कामतबाटै पीडित कटहरी–२ की ५५ वर्षीया रामवती राजवंशीले ८ लाख ऋण लिँदा आफ्नो १ करोडभन्दा बढी पर्ने ८ कट्ठा जग्गा गुमाएकी छन् । उनको जग्गा विभिन्न व्यक्तिको नामबाट हुँदै अन्ततः रामकुमारको नाममा पुगेको थियो । यो विषयमा पनि यसअघि समाचार प्रकाशित भइसकेको छ ।
अहिले राजवंशीको त्यो उजुरी जिल्ला प्रशासन कार्यालयमा विचाराधीन छ । तर, रामकुमारको राजनीतिक पहुँचका कारण छानबिनमा कांग्रेस नेताहरूले नै अवरोध गरिरहेको पीडितको गुनासो छ । मोरङमा हालसम्म ६७८ वटा मिटरब्याजसम्बन्धी उजुरी दर्ता भएका छन्, जसमध्ये ८ वटा मुद्दामा मिलापत्र भई १ करोड ८३ लाख रुपैयाँ लेनदेन र १ बिघा १ कट्ठा १२ धुर जग्गा फिर्ता गराइएको छ ।










Discussion about this post