रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह गाउँपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई भव्य सम्मानको आयोजना गरेको छ।
पालिका कार्यालयको सभाहलमा सोमबार सम्पन्न विशेष समारोहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जना विद्यार्थीहरूलाई गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा नगद पाँच हजार रुपैयाँ, खादा, अविर र सम्मानपत्रसहित सम्मान प्रदान गरिएको हो।
उक्त कार्यक्रममा समुदायिक तथा धार्मिक विद्यालयहरूबाट उत्कृष्ट ग्रेड प्राप्त गर्ने अन्य ४५ जना विद्यार्थीहरूलाई समेत खादा, अविर र सम्मानपत्रसहित सम्मान गरिएको थियो।
शारदा माध्यमिक विद्यालय, भोक्राहा नरसिंह–१ बाट यस वर्ष एसईईमा ८१ विद्यार्थी सहभागी भएका थिए, जसमा ६२ जना विद्यार्थी सफल भएका छन्। तिनमध्ये १० जना विद्यार्थीहरूले ग्रेड ‘ए’ ल्याउन सफल भएका छन्।
त्यस्तै, वडा नम्बर ३ मा अवस्थित जनता माध्यमिक विद्यालयबाट ४१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा २ जना विद्यार्थीले ग्रेड ‘ए’ हासिल गरेका छन्।
भोक्राहा नरसिंह–४ स्थित जामिया इस्लामिया विद्यालयबाट २६ जना परीक्षार्थी सहभागी भएका थिए। यहाँबाट १ जना विद्यार्थीले ग्रेड ‘ए प्लस’ तथा १३ जनाले ग्रेड ‘ए’ ल्याउन सफल भएका छन्।
मदरसत्तुल उलुम विद्यालय, वडा नम्बर ५ बाट ९ जना विद्यार्थी सहभागी भएका थिए, जसमा ३ जना विद्यार्थीले ग्रेड ‘ए’ प्राप्त गरेका छन्।
जनता माध्यमिक विद्यालय, वडा नम्बर ७ बाट ३२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये २ जना विद्यार्थीले ग्रेड ‘ए प्लस’ तथा १३ जना विद्यार्थीले ग्रेड ‘ए’ हासिल गरेका छन्।
यस वर्ष शैक्षिक सत्र २०८१ मा सहभागी भएका मध्ये ३ जना विद्यार्थीहरू ग्रेड ‘ए प्लस’ ल्याएर सम्पूर्ण पालिकाको गौरव बनेका छन्। तिनै विद्यार्थीहरूलाई विशेष सम्मानस्वरूप नगदसहित सर्वोत्कृष्ट विद्यार्थीको रूपमा सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा विशिष्ट अतिथि रूपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीको उपस्थिति रहेको थियो। साथै संविधानसभा सदस्य सुर्यदेवदास उराँव, वडा नम्बर १ का अध्यक्ष लक्ष्मण मेहता, वडा नम्बर २ का वडाध्यक्ष आलम अंसारी, वडा नम्बर ३ का अध्यक्ष धिरेन्द्र यादव तथा वडा नम्बर ५ का अध्यक्ष हारुण अन्सारी, शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्सिना, शिक्षा समिति सदस्य कृष्णराज विष्ट, लगायतका जनप्रतिनिधिहरूको गरिमामय उपस्थिति कार्यक्रममा देखिएको थियो।
त्यसैगरी, विभिन्न सामुदायिक तथा धार्मिक विद्यालयहरूका प्रधानाध्यापकहरूको उपस्थिति एवं शुभकामनाले समारोहलाई अझ बौद्धिक र भावनात्मक महत्व दिएको थियो।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले कार्यक्रममा सम्बोधन गर्दै भने, “विद्यार्थीहरू राष्ट्र निर्माणका मेरुदण्ड हुन्। उनीहरूको मेहेनत र लगनशीलता नै हाम्रो समाजको उज्ज्वल भविष्यको संकेत हो। शिक्षा नै परिवर्तनको मूल मन्त्र हो भन्ने कुरालाई हाम्रो पालिकाले सधैं प्राथमिकतामा राख्दै आएको छ।”
उनले आगामी दिनमा गाउँपालिकाले गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि अझ प्रभावकारी कार्यक्रमहरू अघि ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे।
सम्मान कार्यक्रममा स्थानीय संस्कृति झल्किने शैलीमा अविर, खादा र सम्मानपत्रका माध्यमबाट विद्यार्थीहरूको प्रशंसा गरिएको थियो।
कार्यक्रमले पालिकाभित्रको शैक्षिक चेतना, अभिभावकहरूको भूमिका तथा संस्थागत समन्वयलाई अझ सशक्त बनाएको अनुभूति गरिएको छ।










Discussion about this post