इनरुवा | सुनसरीको सिमावर्ती क्षेत्र, हरिनगर गाउँपालिका–६ स्थित घुस्की गाउँ सोमबार विहान एक हृदयविदारक घटनाले स्तब्ध भयो। बिहानको शान्त घडीमा १८ वर्षीया अरसी खातुनमाथि गरिएको गोली प्रहारले गाउँ नै शोकमा डुबेको छ।
महरम चौककी बालिका अरसी खातुनको ज्यान लिने यो निर्मम खेल कुनै अपरिचितले खेलेको होइन। उनका आफ्नै भिनाजु – भारतको बिहार, पत्रहा पंचायत वडा नं. १६ घुर्नाका २९ वर्षीय अजाद मियाँ जटले नाताको मर्यादा भुलेर गोली दागेका हुन्।
मृतकका बुवा गफार मियाँले आफ्नै आँखै अगाडि छोरीको सास चुँडिएको देख्नु पर्यो। उनले रुँदै भने, “अरसी केही दिनअघि मात्रै मामाघर आएकी थिई, के थाहा यस्तो अकल्पनीय घटना घट्छ भन्ने।”
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार, घटनास्थलमै खातुनको मृत्यु भइसकेको थियो। टाउकोको बाँया भागमा गम्भीर चोट लागेको र गोली नछुटेको एकथान कारतूस पनि फेला परेको उनले बताए।
घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी घुस्कीहाटबाट इन्चार्ज सुरेश यादवको कमाण्डमा तत्काल टोली परिचालन गरिएको थियो। त्यसको केही समयमै जिल्ला प्रहरी कार्यालयबाट डिएसपी खतिवडाको नेतृत्वमा अर्को टोली समेत घटनास्थलमा पुगेर अनुसन्धान थालिएको थियो।
SOCO अधिकृत सहितको टोलीले कानुनी प्रकृया पुरा गर्दै घटनास्थलको मुचुल्का तयार गरी मृत शरीरलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाएको छ।
आफन्तकै बन्दुकबाट ज्यान गुमाएकी अरसीको हत्या किन र कसरी भएको भन्नेबारे अनुसन्धान जारी छ। हत्यापछि फरार रहेका आरोपी अजाद मियाँको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
उक्त घटनाले नातामा लुकेको विश्वासलाई चुँड्याउँदै, एउटा निर्दोष जीवनलाई असमायिक समाप्त गरेको छ।










Discussion about this post