इनरुवा। आर्थिक वर्ष २०८०/०८१ मा भोक्राहा नरसिंह गाउँपालिकाका किसानहरूलाई सिंचाइमा सहजता ल्याउने उद्देश्यले वडा कार्यालय तथा गाउँपालिका कार्यालयमार्फत वितरण गरिएको बोरिङ्ग पाइप र मोटरहरूको प्रभावकारीता र उपयोग अवस्थाबारे घरदैलोमै पुगेर अनुगमन गरिने भएको छ।
यसका लागि कार्यपालिकाको मिति २०८२/०३/२९ गतेको निर्णय अनुसार ७ सदस्यीय अनुगमन समिति गठन गरिएको छ। समितिको संयोजक गाउँपालिका उपाध्यक्ष सुनिता कुमारी उराँवलाई तोकिएको छ भने अन्य सदस्यहरूमा वडा नं. ४ का अध्यक्ष हारूण अंसारी, कार्यपालिका सदस्य, स्थानीय प्रहरी प्रतिनिधि, पत्रकार, प्राविधिक शाखाका प्रतिनिधि तथा कृषि शाखा प्रमुख सकिल अंसारी सदस्य सचिवका रूपमा रहने छन्।
समितिले आगामी २१ दिनभित्र गाउँपालिका भित्रका सबै वितरण भएका बोरिङ्ग उपकरणको स्थलगत अनुगमन गरी प्रत्यक्ष रुपमा किसानहरूसँग संवाद गर्ने, समस्या बुझ्ने तथा उपकरणको प्रभावकारिता मूल्याङ्कन गर्ने जनाइएको छ।
गाउँपालिकाका उपाध्यक्ष तथा समितिका संयोजक उराँवले बताएअनुसार, “हामी किसानका घरदैलोमै पुगेर हेर्नेछौँ— वितरण भएको सामग्री प्रयोगमा छन् वा छैनन्, कसरी उपयोग भइरहेको छ, के सुधार गर्नुपर्ने हो भनेर प्रत्यक्ष रूपमा बुझ्नेछौँ।”
कृषि शाखा प्रमुख तथा समितिका सदस्य सचिव अंसारीका अनुसार प्रतिवेदन तयार गरी आगामी कार्यपालिका बैठकमा पेस गरिनेछ। अनुगमनपछि नीति निर्माणमा समेत सुधार ल्याउने अपेक्षा लिइएको छ।
किसानहरूले सिंचाइमा सहजता पाउने अपेक्षासहित वितरण गरिएको उपकरणहरू उचितरूपमा प्रयोग भएको छ वा छैन भन्ने सुनिश्चित गर्न गरिन लागेको पहल उत्तरदायित्वसहितको सेवा प्रवाह र पारदर्शिता सार्थक भएको सरोकारवालाहरूको बुझाइ छ।










Discussion about this post