इनरुवा । सुनसरी जिल्लामा अपराध नियन्त्रणको चुनौती झनै गहिरिँदै गएको तस्बिर जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै जिल्ला प्रहरी कार्यालयमा १ हजार ८ सय ८७ वटा आपराधिक मुद्दा दर्ता भएका छन्, जसमा १ हजार १ सय ३ वटा मात्र फछ्र्यौट भएका छन्।
प्रहरी स्रोतका अनुसार बाँकी ६ सय ६४ मुद्दा हालसम्म अपुरो अवस्थामा छन्, जसमा अधिकांश जघन्य र गम्भीर प्रकृतिका अपराध रहेका छन्। प्रहरी उपरीक्षक योगराज खतिवडाले दिएको जानकारी अनुसार, हत्या, बलात्कार, आत्महत्या दुरुत्साहन, मानव बेचबिखन, लागूऔषध कारोबार, डकैती, साइबर अपराध लगायतका मुद्दाहरू तीव्र रूपमा बढिरहेका छन्।
हत्या र आत्महत्याको डरलाग्दो लहर
- कर्तव्य ज्यानका १५ मुद्दा
- ज्यान मार्ने उद्योग ४२
- आत्महत्या दुरुत्साहन २, झुन्डिएर आत्महत्या १७८, विष सेवन ३५, आगो लगाएर २, पानीमा डुबेर २६
- मृत अवस्थामा फेला परेको १८
यी तथ्यांकहरूले जिल्लामा आत्महत्याको भयावह अवस्थालाई उजागर गरेका छन्, जुन सामाजिक मानसिक स्वास्थ्य संकटको संकेत हो।
यौन अपराध र महिला हिंसामा पनि उकालो
- ७३ वटा जबर्जस्ती करणी,
- १३ बाल यौन दुराचार,
- २ हाडनाता करणी,
- बालविवाह, बहुविवाह, बाल यौन शोषणजस्ता मुद्दा पनि दर्जनौं संख्यामा दर्ता भएका छन्।
लागूऔषध र साइबर अपराधको त्रास
- लागूऔषध सम्बन्धी मुद्दा मात्रै ४२० पुगेका छन्।
- विद्युतीय तथा साइबर अपराधका १३ मुद्दा दर्ता गरिएका छन्।
ठगी, चोरी र डाँका अझै नियन्त्रणबाहिर
- ठगी र आपराधिक विश्वासघात ६६
- विभिन्न प्रकारका चोरीका ११० मुद्दा,
- नकबजनी चोरी ५, डाका चोरी ४
- सवारी चोरी १६, चौपाया चोरी ४
यसका साथै बैंकिङ्ग कसुर २३२, अभद्र व्यवहार २६२, नागरिकता तथा सरकारी दस्तखत किर्तेजस्ता मुद्दाहरू समेत दर्ता भएका छन्।
सुनसरी प्रहरीको सतर्कता तर चुनौतिपूर्ण अवस्था
जिल्ला प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले जिल्लामा सार्वजनिक सुरक्षा सुदृढ बनाउन प्रयास भइरहेको बताउँदै भने, “जघन्य अपराध बाहेकका घरेलु झैझगडा मेलमिलापमार्फत टुंग्याइएको छ तर गम्भीर मुद्दाहरूमा कडाइ गरिएको छ।”
तर वास्तविकता हेर्दा प्रहरी कार्यालयको चाप, बाँकी मुद्दाको चाङ र अपराधको प्रवृत्तिमा आएको उकालोले सुनसरीको सुरक्षा अवस्थालाई खतराको घण्टी जस्तै बजाइरहेको छ।










Discussion about this post