रन्धिर यादव/ इनरुवा । लामो समयदेखि पानी नपरेर पिँजिएको खेत, चिरा परेका माटो र सुक्दै गएको धान। यस्तो कठिन अवस्थाबाट गुज्रिरहेका सुनसरीका किसानलाई अन्ततः असारको अन्त्यतिर परेको वर्षाले थोरै भए पनि राहत दिएको छ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ का सुरेन्द्र उराँव पेशाले शिक्षक भएपनि कृषि उनको जिवनको अभिन्न हिस्सा हो। कर्मा आधारभूत विद्यालयका प्रधानाध्यापक उराँवले आफ्नै २ बिघा खेतमा धान खेती गर्दै आएका छन्। वर्षा नहुँदा केही भागमा नहर र केही भागमा भूमिगत सिँचाइको सहारा लिएर उनले रोपाइँ गरेका थिए। तर पानी नपरेको कारण खेत चिरा परेर रोपिएको धान सुक्न थालेपछि उनी चिन्तित थिए।
“तीन दिनयता परेको झरीले केही राहत महसुस भएको छ,” उराँवले भने।
स्थानीय किसान विनोद मेहता भन्छन्, “समयमै पानी नपरेको भए ब्याडमा राखेको धानको बिरुवा नै सुक्ने थियो, खेतमा लगाएको रोपो पनि खेर जान्थ्यो।”
असार सकिनै लाग्दा पनि लगातार पानी नपर्दा कोशी, हरिनगर, देवानगञ्ज, इनरुवा लगायतका क्षेत्रमा धान रोपाइँमा निकै समस्या आएको थियो। तर सोमबारदेखि बुधबारसम्म परेको वर्षाले किसानहरूलाई आशावादी बनाएको छ।
किसान संजय मेहताका अनुसार, “आकाशे पानीकै भरमा खेती गर्दै आएका हामीजस्ता किसानको रोपो सुक्न थालेको थियो। अब भने केही सहज भएको छ।”
यता, हरिनगरका किसान चन्दन मेहताले विद्युत् आपूर्तिको समस्या झिक्दै भने, “पम्पसेट चलाएर सिँचाइ गर्न पनि समस्या थियो। यो पानीले खेत भिजेपछि खेत जोत्न सजिलो भएको छ।”
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निल कमल सिंहका अनुसार, यस वर्ष सुनसरीमा झण्डै ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइरहेको छ।
उनले थपे, “यही गतिमा पानी परे आगामी केही दिनमा रोपाइँको गति तीव्र हुने अपेक्षा छ।”
प्राकृतिक वर्षाको भरमा निर्भर रहेका किसानहरूको अनुहारमा अहिले राहतको झल्को देखिएको छ। तर, सिँचाइका वैकल्पिक स्रोतको विकास नगरेसम्म यस्तो समस्या वर्षेनी दोहोरिने सम्भावना उच्च छ।










Discussion about this post