विराटनगर । श्रम अभियानमार्फत देशभर चिनिएका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको योजनामा ‘माया धराने’ ब्राण्डमा बेसार उत्पादन सुरु भएको छ । उपमहानगरपालिकाको लगानीमा असार २५ गतेदेखि औपचारिक रूपमा उत्पादन सुरु गरिएको बेसारको प्रचारमा भने प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई समेटिएको छ ।
प्रधानमन्त्री ओलीले कुनै कार्यक्रममा बोलेको वाक्यलाई प्रयोग गर्दै गायिका एलिसा राईले बेसारको प्रचार गरेको भिडियोमा देख्न सकिन्छ । ‘हरेक दिन एक कदम अगाडि । लक्ष्य ठुलो राख्ने तर सानो–सानो खुट्किलो पार गर्दै निरन्तर लागिरहेमात्र लक्ष्यमा पुग्न सकिन्छ । अहिले पनि म युवा पुस्तालाई एउटामात्र शब्द थपेर भन्न चाहन्छु– ब्रो, हरेक दिन एक कदम अगाडि । जतिसुकै लामो यात्रा भए पनि एक–एक कदम गरेरै पूरा गर्ने हो,’ माया धराने बेसारको प्रचारमा ओलीको आवाजमा भनिएको छ ।
बेसारको प्रचारमा हर्क साम्पाङले पनि आवाज दिएका छन् । उनले भनेका छन्, ‘माया धराने बेसारमा एक पर्सेन्ट पनि मिसावट छैन, हुँदै हुँदैन, हुने छैन– कुनै पनि हालतमा । चाहे हामी यहाँ रहौँ, नरहौँ, माया धराने बेसार हाम्रो धरान उपमहानगरपालिकाको एउटा उत्पादनको रूपमा, पहिलो उत्पादनको रूपमा रहेको कारणले गर्दा यसको शुद्धतामा हामीले ध्यान दिन्छौँ ।’
बेसारको प्याकेटमै हर्क साम्पाङले ढुंगा बोकेको फोटो राखिएको छ । फोटोको मुनि ‘आत्मनिर्भरता आफ्नो समस्याको समाधान आफैँले आफ्नै उत्पादनमा आधारित भएर गर्नुपर्छ । कुनै विदेशी उत्पादनमा निर्भर भएर हैन’ लेखिएको छ ।
बेसारको प्रचारमा गायक एलिसा राई पनि अगाडि देखिएकी छन् । उनले आफ्नो फेसबुक पेजको वालमा बेसार बोकेको फोटोसहित एक स्टाटस लेखेकी छन्, ‘जहाँ अधिकांश पद र शक्तिमा रहेका मानिसहरू केवल ठुला कुरा गर्छन्, मेयर हर्क साम्पाङ, धरान र धरानका इमानदार जनता भने जे जति सकिन्छ, त्यसैबाट राष्ट्र निर्माणमा व्यस्त छन् । बोलेरमात्र देश बन्छ त ?’
उपमहानगरपालिकाको ३० लाखको लगानी रहेको ‘माया धराने’ बेसार उद्योगको सर्वत्र चर्चा चुलिएको छ । झिनो आवाज नै सही, केही विवादका विषय पनि उठेका छन् । यो उद्योगले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ
उद्योगका व्यवस्थापक समीर तामाङले आफ्नो उत्पादन शतप्रतिशत शुद्ध र अर्ग्यानिक भएको दाबी गर्दै प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री गरिरहेको बताए । उनले जापान, अमेरिका र बेलायतजस्ता देशबाट समेत बेसारको माग आएको जानकारी दिए । स्वदेशमा पनि अग्रिम बुकिङ भइरहेको उनको भनाइ छ ।
‘हामीले किसानबाट गुणस्तर हेरेर प्रतिकिलो २ सयदेखि ३५० रुपैयाँ सम्ममा बेसार खरिद गरिरहेका छौँ,’ उनले भने ।
तर, धरानका एक बेसार व्यवसायीले भने माया धराने बेसार बजार मूल्यभन्दा अत्यधिक महँगोमा बेचेको र किसानलाई ठगी गरेको आरोप लगाएका छन् । ‘बजारमा प्रशोधित बेसारको मूल्य प्रतिकिलो ४ सय ५० देखि ६५० सम्म छ, तर उनीहरूले ८ सय रुपैयाँ लिएका छन्,’ ती व्यवसायीले भने, ‘सबैभन्दा दुःखलाग्दो कुरा, बजारमा काँचो बेसारको मूल्य प्रतिकिलो २५०–२८० हुँदा उनीहरूले किसानबाट बेसार लगेर पछि १५० रुपैयाँले मात्र हिसाब गरेको गुनासो आएको छ । यो सरासर ठगी हो ।’
उनले उद्योगको प्रशोधन प्रक्रियामाथि समेत प्रश्न उठाए । ‘खेतबाट ल्याएको बेसारलाई उचित प्रशोधन नगरी सिधै मेसिनमा हालेर पिसेको जस्तो देखिन्छ । यसको सञ्चालन र दर्ता प्रक्रिया पनि पारदर्शी छैन,’ उनले थपे ।
तामाङ भने किसानलाई प्रतिकिलो ३५० रुपैयाँसम्म दिएको र उपयुक्त विधिबाट प्रशोधन गरिएको दाबी गर्छन् । उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको ल्याब परीक्षणमा माया धराने बेसारको गुणस्तर र शुद्धता झण्डै ९८.८८ प्रतिशत पाइएको छ ।
‘माया धराने’ बेसारलाई एक सफल परियोजनाको रूपमा प्रस्तुत गर्दै तामाङले उद्योगले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको बताए । मागको विषयमा उनले भने, ‘हाम्रो उत्पादनको माग अत्यधिक छ । हामीलाई जापान, अमेरिका, बेलायत र हङकङबाट टनका टन माग आएको छ । स्वदेशमै पनि मानिसहरूले हप्तौँ अघिदेखि अग्रिम बुकिङ गरिरहेका छन् ।’
उनका अनुसार उद्योगले हालसम्म धरान–२० का स्थानीय किसानबाट २ हजार किलोभन्दा बढी बेसार खरिद गरिसकेको छ र सबै कानुनी प्रक्रिया पूरा गरेर सञ्चालन भइरहेको छ ।
तामाङले दैनिक १५० देखि २०० किलो बेसार उत्पादन गर्ने क्षमता भए पनि अघोषित लोडसेडिङका कारण उत्पादन आधाभन्दा बढीले घटेको गुनासो गरे । बिजुली अभावले समयमा उत्पादन गर्न नसक्दा माग धान्न गाह्रो परेको उनको भनाइ छ ।
उनले महँगो परेको भन्ने गुनासोमा केन्द्रित हुँदै पूर्ण अर्ग्यानिक बेसारको बजारमूल्य अहिले पनि १ हजार २ सयसम्म परिरहेको दाबी गरे । यसका बाबजुत आफूहरुले ८ सय रुपैयाँ प्रतिकिलोमा विक्री गरिरहेको उनको भनाइ छ ।










Discussion about this post