विराटनगर । कहिले काहीँ बालबालिकाको खेल एकाएक भयावह दुर्घटनामा परिणत हुन्छ, जसले परिवारलाई तर्साउँछ र बालकको जीवन जोखिममा पर्छ। यस्तै एक जटिल र अचम्म लाग्दो घटना हालै उदयपुरमा घटेको छ, जसले चिकित्सकदेखि आमनागरिकसम्मलाई चकित पारेको छ।
१५ वर्षीय एक बालकले खेल्ने क्रममा गल्तीवश कैंची निल्न पुगेपछि त्यसको अप्रत्याशित परिणाम स्वरूप उनले ज्यानै गुमाउने जोखिम व्यहोर्नु परेको थियो। कैंची घाँटी हुँदै पेटको सानो आन्द्रासम्म पुगेपछि परिवारले तत्काल उनलाई उपचारका लागि नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल, विराटनगर पुर्याएका थिए।
अस्पतालको आकस्मिक कक्षमा पुर्याइएलगत्तै एक्स–रे र सिटी स्क्यान परीक्षण गर्दा सानो आन्द्रामा कैंची अड्किएको पुष्टि भयो। परिस्थिती निकै संवेदनशील रहे पनि, वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराईको नेतृत्वमा रहेको सर्जिकल टोलीले अत्याधुनिक ल्याप्रोस्कोपिक प्रविधिमार्फत शल्यक्रिया गरी बालकको आन्द्राबाट सफलतापूर्वक कैंची निकाल्न सफल भएको हो।
डा. भट्टराईले भने, “बालकको आन्द्रामा कैंची अड्किएर यदि समयमा ननिकालिएको भए, ज्यानसमेत जान सक्थ्यो। तर समयमै ल्याइएकाले हामीले सुरक्षित रूपमा निकाल्न सक्यौं।” अहिले बालकको अवस्था पूर्ण रूपमा स्थिर रहेको र दुई दिनको अस्पताल बसाइपश्चात उनी घर फर्किएको अस्पताल स्रोतले जनाएको छ।
बालकका आफन्तका अनुसार, “उनी टेलिभिजन हेर्दै हातमा भएको कैंची मुखमा राखेर जिस्किरहेका थिए, तर अचानक त्यो घाँटी हुँदै पेटभित्र पस्यो। हामीले तत्काल निकाल्ने प्रयास ग¥यौं, तर झन् भित्र गयो। त्यसपछि नजिकैको अस्पताल लग्यौं, जहाँ एक्स–रेले भित्र अड्किएको पुष्टि गर्यो। अन्ततः हामी नोबेल ल्यायौं, किनकी पहिल्यै पनि धेरै बिरामी यहाँ निको भएर फर्किएको अनुभव थियो।”
नोबेल अस्पतालमा यसअघि पनि बेल्टको बक्कल, ब्रस, मासुको हड्डी जस्ता वस्तु निलेका वा अड्किएका जटिल केसहरू सफलतापूर्वक उपचार भइसकेका छन्। अस्पतालले अत्याधुनिक उपकरण र दक्ष चिकित्सकमार्फत दुर्लभ शल्यक्रियाहरू गर्दै आएको छ।
चिकित्सकहरू अनुसार, स–साना बालबालिकाले खेल्ने क्रममा माला, चुम्बक, ब्याट्री, खैलौना जस्ता वस्तु निल्ने वा कान/नाकमा हाल्ने घटनाहरू बारम्बार हुने गर्छन्। त्यसैले यस्ता सामग्रीहरू साना बालबालिकाको पहुँच बाहिर राख्नुपर्ने सल्लाह दिइन्छ।
यस्तै, ठूला बालबालिका वा वयस्कहरूले पनि जिस्केर धारिला वा अखाध्य वस्तु मुखमा हाल्नु अत्यन्तै जोखिमपूर्ण हुने भएकाले सजग रहन चिकित्सकहरूको आग्रह छ। किनभने कहिलेकाहीँ सानो गल्तीले पनि ज्यानघातक परिणति निम्त्याउन सक्छ।










Discussion about this post