इटहरी । पछिल्ला वर्षहरूमा आवश्यक सीप सिकेर तथा दक्षता हासिल गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै छोटो अवधिको ‘केयर ट्रेनिङ’ प्रति आकर्षित हुन थालेका छन् । इटहरीमा सञ्चालित यलम्बर केयर गिभर ट्रेनिङ सेन्टरमा तीन वर्षको अवधिमा विदेश जानकै लागि ५०० भन्दा बढीले तालिम लिएका छन् ।
तालिम लिनेमध्ये सबैभन्दा बढी इजरायल जाने तयारीमा रहेका छन् । जसमा अहिलेसम्म ६२ जनाले आवेदन पेस गरेका छन् । तीमध्ये १६ जनाको इजरायल जाने अन्तिम तयारीमा रहेको केयर गिभर ट्रेनिङ सेन्टरका निर्देशक नरेन्द्र दंगालले बताए । उनका अनुसार इजरायल जाँदा जेष्ठ नागरिकहरूको हेरचाह गर्न जानेले आकर्षक तलब पाउने भएकाले गर्दा पनि ‘केयर ट्रेनिङ’ तालिम लिनेको जमघट हुने गरेको हो ।
इजरायल बाहेक केही यूके समेत गएका छन् । यूके जानकै लागि इटहरीकै संज्ञिता घिमिरेले पनि छोटो अवधिको केयर ट्रेनिङ लिइ सकेकी छन् । उनी भन्छिन्, ‘मेरो त श्रीमान् युकेमै भए तापनि त्यहाँ गएर बढी पैसा कमाउने भएकाले जेष्ठ नागरिक हेरचाह तालिम लिएको हो,’ उनले भनिन् ।
यतिबेला इटहरीमा ‘केयर ट्रेनिङ’ सेन्टर तीनवटा छन् । यद्यपि, सिटिभिटीबाट मान्यताप्राप्त एउटा मात्र छ, जुन यलम्बर केयर गिभर ट्रेनिङ मात्र हो । ‘पूर्वको इटहरीमा हाम्रो केयर ट्रेनिङमा व्यवस्थित ल्याब भएकाले पनि विद्यार्थीको चाप रहेको छ,’ निर्देशक दंगालले भने, ‘पछिल्लो समय विदेशमा मात्र नभएर स्वदेशमै पनि जेष्ठ नागरिक र बालबालिका हेर्नका लागि हेरालुको माग बढ्दो छ ।’
विशेषगरी कामकाजी छोराछोरी भएका वा परिवार विदेश गएका घरका जेष्ठ नागरिकहरूलाई हेरचाह गर्न ‘केयर ट्रेनिङ’ मा सिक्न आउने गरेका छन् । ‘जो जो विदेश जान्छन्, त्यहाँ उनीहरूको कमाइ राम्रो हुने नै छ,’ उनले भने, ‘अब त नेपालमा पनि जेष्ठ नागरिक र बालबालिका हेरचाह गर्नेको माग निकै बढेको छ ।’
जेष्ठ नागरिक र बालबालिकासँगै असक्त, अपाङ्ग भएका व्यक्तिलाई हेरचाह गर्ने भरपर्दो, विश्वासिलो सहयोगी पाउन मुस्किल भएको कारण ‘केयर ट्रेनिङ’ सेन्टर खोजी गरेर सीप सिक्ने संस्कार नै बढेको इजरायलमा लामो समय बसेर फर्किएपछि केयर ट्रेनिङमा प्रशिक्षकको काम गर्दै आएकी कमला निरौलाले बताइन् ।
‘केयर ट्रेनिङ’ मार्फत तालिम लिएर विशेषगरी विदेश जाँदा इजरायल, यूके र युरोपियन मुलुकतर्फ जाने क्रम बढेको छ ।
(साथमा तस्बिर: इटहरीमा सञ्चालित यलम्बर केयर गिभर ट्रेनिङ सेन्टरमा सहभागीलाई ज्ञान दिँदै प्रशिक्षक केबी कार्की)










Discussion about this post