अजितकुमार झा /इनरुवा — सुनसरी जिल्लामा लम्पी स्किन रोगको संक्रमण तीव्ररुपमा फैलिएको छ। जिल्लाका अधिकांश स्थानीय तहका पशुचौपायामा यो रोग देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इनरुवाका प्रमुख डा. मनोज मेहताले जानकारी दिएका छन्।
उनका अनुसार हालसम्म जिल्लाभर १,५१६ वटा पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको छ। तीमध्ये सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशु संक्रमित छन् भने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ पशुमा मात्र संक्रमण देखिएको छ।
संक्रमणका कारण हालसम्म ५३ वटा पशुचौपायाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै बराहक्षेत्र नगरपालिकामा १३ वटा पशु रहेका छन्।
डा. मेहताका अनुसार इनरुवा, धरान, इटहरी, दुहबी, बराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगंज, बर्जु, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा रोगको प्रकोप फैलिएको छ।
रोगको नियन्त्रणका लागि हालसम्म ६४ हजार ४४१ वटा पशुचौपायामा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ।
पशु स्वास्थ्य विज्ञहरूले संक्रमित क्षेत्रको निगरानी बढाउँदै थप सतर्कता अपनाउन किसानहरूलाई आग्रह गरेका छन्। साथै, रोगको लक्षण देखिने बित्तिकै नजिकको पशु सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ।










Discussion about this post