विराटनगर । कृषि सामग्री कम्पनी लिमिटेडले कोशी प्रदेशमा रासायनिक मल पर्याप्त मात्रामा मौज्दात रहेको दाबी गरेको छ। तर, किसानहरूले भने समयमै मल नपाउने गरेको गुनासो गरेका छन्।
कम्पनीका अनुसार विराटनगरस्थित गोदाममा हाल युरिया २,९२६ मेट्रिक टन, डिएपी २,५०० मेट्रिक टन र पोटास १,०८३ मेट्रिक टन मौज्दात रहेको छ। साथै, धनकुटामा युरिया २३, डिएपी ५५ र पोटास ७ मेट्रिक टन, इटहरीमा युरिया ५०८ मेट्रिक टन, विर्तामोडमा युरिया ६०३, डिएपी १७ र पोटास ८ मेट्रिक टन तथा गाईघाटमा युरिया १२९, डिएपी ४६ र पोटास १३ मेट्रिक टन मौज्दात छ।
कम्पनीले माग अत्यधिक भएकाले कहिलेकाहीँ किसानले तत्काल मल नपाए पनि यथार्थमा प्रदेशभर पर्याप्त मल मौज्दात रहेको दाबी गर्दै आएको छ। कार्यालयका अनुसार साउन १ गतेयता कोशी प्रदेशभरबाट युरिया १४३, डिएपी ४९५ र पोटास ०.५ मेट्रिक टन बिक्री भएको छ।
तर, यथार्थमा भने किसानले मल चाहिएको समयमा नपाउने अवस्था दोहोरिँदै आएको छ। एक स्थानीय सहकारी संस्थाका प्रतिनिधिले नाम उल्लेख नगर्ने शर्तमा भने, “कृषि सामग्री लिमिटेडका केही कर्मचारी र सहकारी संस्थाबीच मिलेमतोमा खपत नहुने स्थानीय तहलाई समेत अनावश्यक कोटा छुट्याइन्छ। पछि ती मलहरू पुनः कमिसन लिएर बिक्री गरिन्छ। यसरी मल पुनः बजारमा पठाउँदा किसानले मल पाउने समयमा पाउँदैनन्।”
उता, कृषि सामग्री लिमिटेडले कृषि चुन पनि पर्याप्त मौज्दात रहेको जानकारी दिएको छ। विराटनगरमा २१, इटहरीमा ४२, विर्तामोडमा ७४ र गाईघाटमा १७ मेट्रिक टन गरी कोशी प्रदेशमा कूल १५४ मेट्रिक टन चुन मौज्दात रहेको जनाइएको छ।
यता, किसानहरू भने मल वितरण प्रणालीमा पारदर्शिता नहुँदा आफूहरूले मल अभावको सास्ती झेल्नुपरेको गुनासो गर्छन्। सरकारले पर्याप्त मौज्दात रहेको भन्दै आश्वासन दिए पनि वितरण प्रक्रिया सुधार नगरेसम्म समस्या समाधान नहुने कृषकहरूको भनाइ छ।










Discussion about this post