सुनसरी —
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ र ६ फुलचाैकमा भएको भीषण सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा, जिल्ला अस्पताल इनरुवा, गोल्डेन अस्पताल बिराटनगर र विराट नर्सिङ होममा घाइतेहरूको उपचार भइरहेको छ। मृतकहरुमध्ये सप्तरी मधावे गापा–०६ का ३५ वर्षीय शंकर मण्डल, सुनसरी कोशी गापा–०६ का ७० वर्षीय लक्ष्मण सदा, अझै पहिचान खुल्न बाँकी रहेका विराटनगरका अशोक यादव हुन सक्ने एक पुरुष र अन्दाजी ४५–५० वर्षकी एक महिला रहेका छन्।
घाइतेमध्ये मोरङ सुन्दरहरैचा–९ की अम्बिका राई, खोटाङ रावाबेसी–०२ की निरुता परियार, उदयपुर चौदण्डीगढी–५ की ५० वर्षीया रेनुका श्रेष्ठ, झापा शिवसतासी–०५ का ३८ वर्षीय खगेन्द्र थापा, भद्रपुर–०९ का ५३ वर्षीय सन्तोष खत्री, इलाम चुलाचुली–०३ का ३६ वर्षीय सविन राई, सप्तरी धिकुति–०६ का रविन्द्र मेहता, गोईठी–३ का ६८ वर्षीय जिवछ महात्मा लगायत विभिन्न जिल्लाका नागरिक छन्।
जिल्ला अस्पताल इनरुवामा उपचाररत ८४ वर्षीय नेत्रलाल गिरी र उनका छोरा केदार गिरीलाई डिस्चार्ज गरिएको छ भने गोल्डेन अस्पतालमा झापाका २० वर्षीय सत्य राई, सप्तरीका १० वर्षीय रुद्र राय, मोरङका ४८ वर्षीया सोभा यादव, २४ वर्षीय भोला यादव, ६० वर्षीय जोगिन्द्र दास, ३० वर्षीया अमृता राय लगायतको उपचार भइरहेको छ।
विराट नर्सिङ होममा सप्तरी राजविराज–०४ का २१ वर्षीय सन्तोष बास्तोलाको मध्यम चोटसहित उपचार भइरहेको छ। उनी दुर्घटनामा परेका माइक्रो बसका सह–चालक रहेको प्रारम्भिक जानकारी छ।
दुर्घटनाको कारण प्रारम्भिक अनुसन्धानमा खुलेको छैन। प्रहरी र स्थानीय बासिन्दाले भने घटनास्थलको दृश्य अत्यन्तै भयावह रहेको बताएका छन्। एकैपटक चार परिवारले आफन्त गुमाउनुपरेको र घाइतेको पीडा देख्दा घटनास्थल शोकाकुल बनेको थियो।










Discussion about this post