इनरुवा — सुनसरीको भोक्राहामा भएको भीषण सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने २८ जना घाइते भएका छन्। हालसम्म कोही गम्भीर अवस्थामा नभएको प्रहरीले जनाएको छ।
मृतकमध्ये सप्तरी मधावे गापा–०६ का ३५ वर्षीय शंकर मण्डल, सुनसरी कोशी गापा–०६ का ७० वर्षीय लक्ष्मण सदा, विराटनगरका अशोक यादव हुन सक्ने एक पुरुष, अन्दाजी ४५–५० वर्षकी एक महिला र सप्तरी गोईठी गापा–३ का ६८ वर्षीय जिवछ महात्मा रहेका छन्। जिवछ महात्माको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा सोमबार दिउँसो १४:२० बजे मृत्यु भएको हो। उनको शव सोही अस्पतालमा राखिएको छ र मुचुल्का कार्य बाँकी छ।
घाइतेमध्ये ३ जनालाई डिस्चार्ज गरिएको छ भने ८ जनाको अवस्था मध्यम, १२ जनाको अवस्था सामान्य रहेको छ।
ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा, जिल्ला अस्पताल इनरुवा, गोल्डेन अस्पताल बिराटनगर, विराट नर्सिङ होम र नोबेल अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ।
घाइतेमा मोरङ सुन्दरहरैचा–९ की अम्बिका राई, खोटाङ रावाबेसी–०२ की निरुता परियार, उदयपुर चौदण्डीगढी–५ की ५० वर्षीया रेनुका श्रेष्ठ, झापा शिवसतासी–०५ का ३८ वर्षीय खगेन्द्र थापा, भद्रपुर–०९ का ५३ वर्षीय सन्तोष खत्री, इलाम चुलाचुली–०३ का ३६ वर्षीय सविन राई, सप्तरी धिकुति–०६ का रविन्द्र मेहता, उदयपुर बेलस्रोत–०१ का २० वर्षीय दिपक बिक लगायत छन्।
जिल्ला अस्पताल इनरुवामा उपचाररत ८४ वर्षीय नेत्रलाल गिरी र उनका छोरा केदार गिरीलाई डिस्चार्ज गरिएको छ। गोल्डेन अस्पतालमा झापाका २० वर्षीय सत्य राई, सप्तरीका १० वर्षीय रुद्र राय, मोरङका ४८ वर्षीया सोभा यादव, २४ वर्षीय भोला यादव, ६० वर्षीय जोगिन्द्र दास, ३० वर्षीया अमृता राय लगायतको उपचार भइरहेको छ। विराट नर्सिङ होममा सप्तरी राजविराज–०४ का २१ वर्षीय सन्तोष बास्तोलाको मध्यम चोटसहित उपचार भइरहेको छ।
दुर्घटनाको कारण प्रारम्भिक अनुसन्धानमा खुलेको छैन। प्रहरीले भने घटनास्थलको अवस्था अत्यन्तै भयावह रहेको, स्थानीयवासीहरू अझै आत्तिएको र पीडित परिवार शोकमा डुबेको जनाएका छन्।










Discussion about this post