इटहरी । प्रविधि बिना दैनिक जीवन कल्पना गर्नै नसकिने अवस्थामा नेपाली युवा अन्तर्राष्ट्रिय बजारमै प्रतिस्पर्धा गर्न तयार हुँदै गएका छन्। प्रविधि सीपमा दक्ष युवाले नेपाललाई समृद्धितर्फ डोर्याउने विश्वाससँगै इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसले विगत केही वर्षदेखि स्नातक तहमा बिआइसिटीई (Bachelor of Information Communication Technology Education) कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस कार्यक्रममा अध्ययन पूरा गरेका विद्यार्थीले वेभसाइट निर्माण, कम्प्युटर नेटवर्किङ, सफ्टवेयर विकास, डेटाबेस व्यवस्थापनलगायत सीपमा दक्षता हासिल गर्छन्। यी सीपले उनीहरूको रोजगारीको अवसर नेपालभित्र मात्र होइन, विदेशमा समेत बढाउने बिआइसिटीई कार्यक्रम संयोजक मन्दिप भट्टराई बताउँछन्। उनका अनुसार नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया अन्तर्गत स्नातक तहमा भदौ ४ गते प्रवेश परीक्षा हुने छ।
जनता क्याम्पस इटहरीकै पुरानो र विश्वासिलो शैक्षिक संस्था हो। स्मार्ट बोर्डमार्फत इन्टरएक्टिभ कक्षा सञ्चालन, पठनपाठन सामग्री अनलाइन उपलब्ध गराउने र नियमित आन्तरिक परीक्षा लिनेजस्ता अभ्यासहरू यहाँ लागू भइरहेका छन्। यसले विद्यार्थीको ज्ञानस्तर मात्र नभई परीक्षात्मक तयारीलाई पनि मजबुत बनाएको विषय शिक्षक निरोज पौडेलको भनाइ छ।
शैक्षिक तथा सुपरिवेक्षण समितिका संयोजक शिवराज दाहालका अनुसार, क्याम्पसले पाठ्यक्रमबाहिर वर्कसप र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई अझ व्यावहारिक, जिज्ञासु र समस्या समाधान गर्न सक्षम बनाउन विशेष पहल गर्दै आएको छ। यसले उनीहरूमा आलोचनात्मक सोच र आत्मविश्वासको स्तर बढाएको दाहालको दाबी छ।
निजी क्याम्पसले बिआइसिटीई पढ्न पाँच लाख रुपैयाँसम्म शुल्क लिने गरेको भए पनि जनता क्याम्पसले त्रिभुवन विश्वविद्यालयको परीक्षा शुल्कबाहेक जम्मा दुई लाख बाउन्न हजार रुपैयाँमै गुणस्तरीय शिक्षा दिइरहेको सहायक क्याम्पस प्रमुख सञ्जीव यादवले जानकारी दिए।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसी भन्छन्, “सूचना प्रविधि पढ्न सम्पन्न परिवारको मात्रै पहुँच हुन्छ भन्ने धारणा तोड्न हामी सफल भएका छौं। छात्रवृत्तिबाट धेरै विद्यार्थी लाभान्वित भएका छन्, कतिपयले शुल्क नै नतिरी पढ्ने अवसर पाएका छन्।”
गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त जनता क्याम्पसले बिआइसिटीईसँगै स्नातक तहमा बिएड, बिबिएस, बिए र स्नातकोत्तर तहमा एमएड, एमबिएस जस्ता कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। साथै कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम समेत यहाँ उपलब्ध छन्। हाल क्याम्पसमा पाँच हजार आठ सय विद्यार्थी अध्ययनरत छन्।










Discussion about this post