इटहरी — इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार शिक्षक अभिभावक संघ र आमा समूहमा निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ।
शिक्षक अभिभावक संघमा सानुराम गौतमको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको छ भने आमा समूहमा मुक्तामणि डागी नेतृत्व चयन भएको हो। दुवै समितिलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोविदजंग कार्की र प्रधानाध्यापक सरनकुमार बस्नेतले स्वागत गरेका थिए। समितिको कार्यकाल दुई वर्षको हुनेछ।
यसअघि दुई वर्षे कार्यकाल पूरा गरेका निवर्तमान पदाधिकारीलाई समेत कार्यक्रममा बिदाइ गरिएको थियो। कार्यक्रममा अध्यक्ष कार्कीले विद्यालयको शैक्षिक स्तर उकास्न समाजका सबै क्षेत्रका अग्रणीहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए। विद्यालयकी सहायक प्रधानाध्यापक यमूना बस्नेतले स्वागत मन्तव्य दिएकी थिइन्।
सोही अवसरमा विद्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम पनि सार्वजनिक गर्यो। प्रधानाध्यापक बस्नेतले प्रस्तुत गरेको अनुमानित बजेटअनुसार आयतर्फ १३ करोड २ लाख २२ हजार २४७ रुपैयाँ र व्ययतर्फ १२ करोड ८७ लाख ५१ हजार ३८२ रुपैयाँ रहनेछ।
वार्षिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, मानव संसाधन, शैक्षिक गुणस्तर वृद्धि, सूचना प्रणालीलगायत ६३ बुँदे कार्यक्रम समावेश गरिएको सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले जानकारी दिइन्। विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन हुने व्यवस्था रहेको छ।










Discussion about this post