बैतडी — भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने दर डरलाग्दो रूपमा बढ्दै गएको छ। जिल्लाबाट हराउनेहरूको संख्या वर्षैपिच्छे उकालो लाग्दै जाँदा स्थानीयहरू त्रसित बनेका छन्।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार, पछिल्लो तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था आजसम्म अज्ञात छ। कतिपय मानिस घर फर्केका छैनन्, कतिपयको समाचारसमेत आएको छैन।
२०७९/८० मा मात्रै १०५ जना हराएका थिए। तीमध्ये ९१ जना फेला परे पनि १४ जनाको अत्तोपत्तो छैन। त्यसैगरी २०८०/८१ मा ११५ हराएकामध्ये ११३ जना फेला परे, तर दुई जनाको अवस्था अझै अज्ञात छ।
सबैभन्दा भयावह अवस्था भने चालु आर्थिक वर्ष २०८१/८२ मा देखिएको छ। १२२ जना बेपत्तामध्ये अहिले सम्म ८६ मात्र फेला परेका छन्, बाँकी ३६ को खोजी अझै अधुरो छ।
प्रहरी प्रवक्ता बलराम पाण्डेयका अनुसार, हराउनेहरूमध्ये महिला र बालबालिकाको संख्या अत्यधिक छ। गत आवमा मात्रै ५५ महिला, २७ बालक, २९ बालिका र दुई जना ज्येष्ठ नागरिक बेपत्ता भएका थिए। तीमध्ये धेरै भारततर्फ तस्करी, प्रलोभन वा कामको बहानामा हराउने गरेको आशंका गरिएको छ।
प्रहरीले स्पष्ट गरेको छ– “बेपत्ता भएको भन्दै निवेदन त दर्ता हुन्छ, तर फेला परे पनि आफन्तले प्रहरीलाई जानकारी नदिने भएकाले तथ्याङ्क अझै डर लाग्दो देखिन्छ।”
भारतसँगको खुला सीमाले तस्कर र दलाललाई सहज बनाएको छ। प्रहरीको भनाइमा, सामाजिक सञ्जालको दुरुपयोग, ललाइफकाइ, र कम उमेरमै भारत पस्ने बालबालिकाले ठूलो संकट निम्त्याइरहेका छन्।
गत वर्ष मात्रै प्रहरीले पाँच महिला, दुई बालक र तीन बालिकालाई सीमाबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको छ। तर उद्धार हुनेभन्दा हराउनेहरूको संख्या बढी रहेकाले बैतडी अहिले सीमावर्ती अपराधको खतरनाक नक्सामा परेको छ।










Discussion about this post