इनरुवा– सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा सामूहिक दर खाने कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा गरिएको यस सामुदायिक दर खाने कार्यक्रममा तीजसँगै करम पूजा र जितिया पर्वको उपलक्ष्य पनि जोडिएको थियो। कार्यक्रमको संयोजन उपाध्यक्ष सुनिताकुमारी उराँवले गर्नु भएको थियो।
प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद उपस्थित हुनु भएको कार्यक्रमलाई इनरुवा नगरपालिकाकी उपमेयर बिनिता कुमारी मेहता, बराहक्षेत्र नगरपालिकाकी उपमेयर नन्द कुमारी सुनुवार, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारी, नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ समिति सभापति युवराज दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए।
अतिथिहरूले तीज, करम पूजा र जितियाजस्ता पर्वलाई केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक ऐक्यबद्धता, संस्कृतिको संरक्षण र नयाँ पुस्तामा मौलिक परम्पराको परिचय दिने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए। महिलाहरूलाई प्रोत्साहन गर्ने खालका सामूहिक कार्यक्रमले समाजलाई अझ एकताबद्ध बनाउन मद्दत पुर्याउने उनीहरूको भनाइ थियो।
फरक प्रसंगमा अध्यक्ष आजादले आफू सबै धर्म र समुदायको आस्था र संस्कृतिप्रति समान सम्मान राख्ने व्यक्ति भएको उल्लेख गर्दै तीजलाई उत्साह, भक्ति र सद्भावसहित मनाउन आग्रह गरे। उनले यस पर्वलाई धार्मिक मात्र नभई सामाजिक सद्भावको प्रतीकका रूपमा लिनुपर्ने बताए।
कार्यक्रमको विशेषता भनेको यसपटक मुस्लिम महिलाको समेत सक्रिय सहभागिता रहनु हो, जसले सांस्कृतिक विविधता र सहिष्णुताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
सामूहिक दर खाने कार्यक्रममा उपस्थित महिलाहरूले दरका विभिन्न परिकारसँगै गीत, नृत्य र धार्मिक भजनमा सहभागिता जनाएका थिए। वातावरण भक्तिमय र उल्लासपूर्ण बनेको थियो।










Discussion about this post