सुनसरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) नतिजामा भाेक्राहा नरसिंह गाउँपालिकाले ८०.५० अंक हासिल गर्दै आफ्नो क्षमता र कार्यक्षमता प्रदर्शन गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, गाउँपालिकाले सेवा प्रवाहमा १२, वित्तीय व्यवस्थापनमा १०.७५, योजना तर्जुमामा ९.५० र सामाजिक समावेशीकरणमा ९ अंक प्राप्त गरेको छ। यसबाहेक शिक्षा, स्वास्थ्य, पूर्वाधार र ग्रामीण अर्थतन्त्रमा देखिएको प्रगति यस उपलब्धिमा टेवा पुगेको मानिएको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले यो उपलब्धिलाई जनताको विश्वास र स्थानीय सरकारको सामूहिक प्रयासको प्रतिफल बताएका छन्। उनले भने, “८०.५० अंक हाम्रो लागि केवल संख्या होइन, यो जनताप्रति हाम्रो जवाफदेहिता र मेहनतको मान्यता हो। हामीले महिला, बालबालिका, विद्यार्थी, किसान र सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ। अझै पनि वातावरण संरक्षण, विपद् व्यवस्थापन र सहकार्यतर्फ सुधार गर्नुपर्ने छ, त्यसमा निरन्तर लाग्नेछौँ।”
गाउँपालिकाले गत वर्षदेखि विद्यालय सुधार अभियान, महिला समूहमार्फत बजेट कार्यान्वयन, स्वास्थ्य चौकी सुदृढीकरण, खानेपानी तथा सडक पूर्वाधार निर्माणलगायतका कामलाई प्राथमिकतामा राख्दै आएको छ। यसैगरी, किसानलाई मल–बीउ वितरण, तालिम तथा प्राविधिक सहयोगमार्फत कृषि उत्पादनमा वृद्धि गर्ने अभियान अगाडि बढाइएको छ।
सुनसरीका अन्य स्थानीय तहहरूमध्ये भाेक्राहा नरसिंह गाउँपालिकाले पाएको यो अंक प्रशंसनीय उपलब्धि मानिएको छ।










Discussion about this post