रन्धिर यादव/सुनसरी — गढी गाउँपालिका–२ को एउटा टोल। कच्ची घरका पाखुरा फाटिसकेका, कतै टाटेपाटे टालिएको छानो, कतै त सिरानी राख्ने छानै नभएका परिवार। यही पीडाले वर्षौंदेखि गरिबहरूको आँखामा आँसु थप्दै आएको थियो।
तर, यो पटक गाउँमा फरक दृश्य छ। ढल्केको घाममा ईंटा सिँगै थुपारिएको छ, छेउमै सिमेन्टका बोरा अनि काममा व्यस्त मजदुरहरू। गरिबका लागि निःशुल्क घर निर्माण भइरहेको देखेर गाउँका वृद्ध–वृद्धा र बालबालिकाको अनुहारमा नयाँ खुशी छाएको छ।
चुजी फाउन्डेसनको सहयोगमा ग्रामीण महिला उत्सुकता विकास मंच फरवार्डले सुनसरी निर्वाचन क्षेत्र नं.३ अन्तर्गत गढी, बर्जु र इनरुवा–७ (चाँदबेला) का विभिन्न टोलमा सुरु गरेको यो कार्यक्रम घरविहीन र अति विपन्नका लागि आशीर्वादझैं बनेको छ।
स्थलगत निरीक्षणका क्रममा पुर्व मन्त्री तथा माननीय भगवती चौधरीले भनिन्, मेरो व्यक्तिगत पहलमा गरिव परिवारका सदस्यहरूलाई दुखमा साथ दिनका लागि “आफ्नो घर नभएर खुले आकाशमुनि निदाउनुपर्ने दिन सकियोस् भन्ने हाम्रो चाहना हो। यो अभियान गरिबको आँसु पुछ्ने प्रयास मात्र होइन, उनीहरूको जीवनमा स्थायी आशा जगाउने माध्यम पनि हो।”
उनी भन्छिन्, अब विपन्न परिवारले आफूलाई समाजले बिर्सेको अनुभूति गर्नुपर्ने छैन। “सुरक्षित आवासको अधिकार प्रत्येक नागरिकको हो, यो परियोजनाले त्यही अधिकारको प्रत्याभूति गराउनेछ,” चौधरीले थपिन्।
गाउँका एक वृद्धाले भनेको कुरा सबैको भावना झल्काउँछ—
“हामीलाई थोरै भए पनि आकाश देखिने छानो मिल्यो भने जीवन सजिलो हुन्छ भन्ने लाग्थ्यो। अब त्यो सपना पुरा हुँदैछ।”
यसरी, गरिबले दशकौं देखेको सपना पूरा हुँदै गर्दा सुनसरीको गाउँ–टोलमा अब केवल घरको जग मात्र होइन, आशाको जग पनि बसिरहेको छ।










Discussion about this post