इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उराँव समुदायको उत्थानलाई तीनै तहका सरकारको प्राथमिक एजेण्डा बनाउनुपर्नेमा जोड दिए। नेपाल उराँव संघ स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र मौलिक संस्कृतिको संरक्षणलाई केन्द्रमा राखेर तत्काल प्रभावकारी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरे।
देउवाले भने, “उराँव समुदायका बालबालिकालाई शिक्षाको सहज पहुँच मिलाउनुपर्छ, उनीहरूको मौलिक सिपलाई प्रबर्द्धन गर्नुपर्छ। अल्पसंख्यक जातिको मौलिक संस्कृति जोगाउने दायित्व राज्यकै हो।”
सुनसरी, झापा र मोरङ जिल्लामा प्रमुख रूपमा बसोबास गर्ने उराँव समुदाय विगतमा गरिबी र अशिक्षाका कारण ‘जाँडरक्सीमा रमाउने र सिकार खेल्ने’ समूहका रूपमा चित्रित भएको थियो। महिलाहरूमा स्वास्थ्य सचेतनाको अवस्था झन् कमजोर थियो—सुत्केरी सेवा वा गर्भ जाँच नगरी घरमै बच्चा जन्माउने चलन सामान्य मानिन्थ्यो।
तर पछिल्लो दशकमा परिस्थितिमा उल्लेखनीय सुधार आएको छ। स्वास्थ्य स्वयम्सेविकाको प्रयास, स्थानीय संघ–संस्थाको सक्रियता र राजनीतिक चेतनाको विस्तारसँगै समुदाय शिक्षित, संगठित र आत्मविश्वासी बन्दै गएको छ।
नेपाल उराँव संघका केन्द्रीय सभापति सूर्यदेव उराँवले अब समुदाय हरेक हिसाबले सक्षम बन्दै गएको बताउँदै पार्टी तथा सरकारले उनीहरूलाई संस्थागत रूपमा समेट्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेताहरू विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, मोहन बस्नेत, मिन विश्वकर्मा, राजीव कोइराला, राजीव ढंगानालगायतले पनि उराँव समुदायको उत्थानका लागि ढिलाइ नगरी विशेष योजना ल्याउन आग्रह गरे। उनीहरूले २०४६ सालयता सुनसरीमा भएका निर्वाचनहरूमा उराँव समुदायले कांग्रेसका उम्मेदवारलाई जिताउन खेलेको निर्णायक भूमिकालाई स्मरण गर्दै योगदानलाई मूल्याङ्कन गर्नुपर्ने धारणा राखे।
कार्यक्रमको आरम्भ उराँव समुदायको मौलिक करम पूजा बाट भएको थियो। दशैं पर्वको प्रारम्भसँगै सुरु हुने यो पूजामा करम र वेलको हाँगा राखेर करम देवताको पूजा गर्ने चलन छ। यसलाई उनीहरूको सांस्कृतिक पहिचानको आधार मानिन्छ।










Discussion about this post