काठमाडौं – जेन–जी आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्।
यसअघि बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा घटनाको राजनीतिक तथा नैतिक जिम्मेवारीबारे छलफल भएको थियो। नेताहरूले बल प्रयोगका कारण २० जनाको ज्यान गएको घटनाको जिम्मा गृह मन्त्रालयले लिनुपर्नेमा जोड दिएका थिए। सोही दबाबपछि लेखक राजीनामाको निर्णयमा पुगेका हुन्।
बैठक सकेर मन्त्री लेखक बालुवाटार पुगेका थिए। त्यहाँ उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारको जिम्मेवारी निर्वाह गर्न आफू पदमुक्त हुन तयार रहेको बताएका छन्।
जेन–जी आन्दोलन अन्तर्गत काठमाडौं उपत्यकामा १८ र इटहरीमा २ गरी २० जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क आएको छ। ठूलो मानवीय क्षतिपछि सरकारले घटनाप्रति गम्भीर समीक्षा गर्नुपर्ने आवाज कांग्रेस भित्र मात्र होइन, नागरिक समाज र अन्य दलबाट पनि उठिरहेको छ।
यस घटनासँगै सरकारको सुरक्षा दृष्टिकोण र आन्दोलनप्रति अपनाइने व्यवहारबारे नयाँ बहस सुरु भएको छ। गृहमन्त्रीको राजीनामा त्यसै बहसको प्रारम्भिक परिणामका रूपमा देखिएको विश्लेषण गरिएको छ।










Discussion about this post