इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका कार्यालय तथा विभिन्न वडा कार्यालयमा जेन-जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिको आज स्थलगत अनुगमन गरिएको छ।
अनुगमनमा काेशी प्रदेशसभा सदस्य इस्राइल मंसुरी, गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, सम्बन्धित वडाध्यक्षहरू तथा स्थानीयवासीहरूको उपस्थितिमा क्षतिको विस्तृत विवरण संकलन गरिएको हो।
स्थलगत निरीक्षणका क्रममा गाउँपालिका कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको पाइएको छ। कार्यालयमा रहेका अभिलेख, महत्वपूर्ण कागजात, सवारीसाधन, विद्युतीय उपकरण तथा फर्निचर सबै जलेर नष्ट भएका छन्। त्यस्तै वडा नम्बर २, वडा नम्बर ३, वडा नम्बर ४, वडा नम्बर ६ र वडा नम्बर ७ का कार्यालयहरूमा समेत गम्भीर क्षति पुगेको छ। अभिलेखसहितका आवश्यक सामग्री जलेर नष्ट हुँदा प्रशासनिक कार्य सञ्चालनमा गम्भीर चुनौती सिर्जना भएको स्थानीय प्रतिनिधिहरूले बताएका छन्।
प्रदेशसभा सदस्य मंसुरीले घटनालाई दुखद भएको भन्दै तत्कालै पुनःनिर्माण र अभिलेख संरक्षणका लागि प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै अध्यक्ष आजादले जनताको सेवामुखी संस्थामाथि भएको आक्रमण जनतामाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै दोषी पहिचान गरी कारबाहीको माग गरे।
यसैबीच स्थानीयवासीहरूले यस्ता घटनाले गाउँपालिकाको विकास र सेवाप्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै दोषीलाई कारबाही र तत्काल राहत तथा पुनःस्थापना कार्यको माग गरेका छन्।यता पालिकामा रहेको सवारीसाधन , कम्प्युटर, ल्यापटप, किसानहरूलाई वितरण गर्न राखिएको माेटर सेट पूर्णरूपमा जलेर नष्ट भएको छ ।भने क्षतिपूर्तिको विवरण संकलन भइरहेको वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादवले जानकारी दिए ।










Discussion about this post