सुनसरी — रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये सोमबार साँझसम्ममा ७०५ जना पुनः नियन्त्रणमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सनाका अनुसार कुल १ हजार ५७२ कैदीबन्दीमध्ये झण्डै आधाभन्दा बढी पक्राउ परेका हुन्।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा करिब १०० जनाभन्दा बढी युवाको समूह कारागार परिसरमा प्रवेश गरी तोडफोड र क्षति गर्न थालेपछि कैदीबन्दीहरू सामूहिक रूपमा भागेका थिए। कैदीहरूले भित्रैबाट आगो लगाउने चेतावनी दिएको र बाहिरबाट प्रदर्शनकारीको दबाब बढेपछि थप मानवीय क्षति हुन नदिन कारागार प्रशासनले प्रवेशद्वारको सुरक्षा खुकुलो बनाएको एसपी तिम्सनाले जानकारी दिए।
उनका अनुसार कारागारमा रहेका दुई ब्लकमध्ये २२७ कैदीबाहेक अन्य सबै भागेका थिए। भागेकामध्ये भारतीयसहितका ६५ जना विदेशी कैदी पनि रहेका थिए र ती सबै भारततर्फ फर्किएको आशंका गरिएको छ।
सोमबार साँझसम्म ७०५ जना पुनः पक्राउ परे पनि बाँकी कैदीबन्दीको खोजी कार्य जारी रहेको प्रहरी प्रशासनले जनाएको छ। पक्राउ परेकामध्ये धेरैलाई स्थानीयवासीको सहकार्यमा आसपासका गाउँ तथा शहर क्षेत्रमा फेला पारिएको र केहीलाई सीमा क्षेत्रमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
सुरक्षा निकायले बाँकी कैदीबन्दीसमेत चाँडै नियन्त्रणमा लिने विश्वास व्यक्त गरेको छ। यस घटनापछि झुम्का कारागारको संरचनागत सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेका छन्।










Discussion about this post