सुनसरी — जेन–जीको नाममा अराजक समूहले गरेको तोडफोड र आगजनीका कारण करौडौँको सम्पत्ति नष्ट भएपछि भोक्राहा नरसिंह गाउँपालिका भित्र अहिले जनप्रतिनिधि र कर्मचारीहरूले आफैं अग्रसर भएर सरसफाई अभियान सुरु गरेका छन्।
आन्दोलनका क्रममा गाउँपालिकाको भवन, फर्निचर, अभिलेख, कम्प्युटर र विभिन्न शाखामा रहेका सामग्रीमा ठूलो क्षति पुगेको थियो। कार्यालयभित्र धुवाँ र खरानीले भरिएको वातावरणका बीच कर्मचारीहरूले आफ्नो व्यक्तिगत घरबाट झाडु, डस्टबिन र अन्य सरसफाई सामग्री ल्याएर काम सुरु गरेका छन्। उनीहरूले कार्यालय परिसरदेखि भित्रका कोठासम्म सफा गर्दै जनसेवा पुनः सुचारु गर्ने तयारी थालेका छन्।
पालिका अध्यक्ष अजमल अख्तर आजादका अनुसार कार्यालयलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउन कर्मचारीहरू आफैं जुटेका हुन्। “सम्पत्ति जलेर खरानी बने पनि सेवाग्राहीलाई निराश हुन नदिने हाम्रो प्रतिबद्धता हो,” अध्यक्ष आजादले भने।
स्थानीयवासीले पनि कार्यालय सफाइमा साथ दिएका छन्। आन्दोलनपछिको क्षतिको बीमा, राहत र पुनर्निर्माणबारे प्रक्रिया अघि बढाइने बताइएको छ।
यसरी कर्मचारी र स्थानीयवासीको सक्रिय सहभागितामा भइरहेको सफाई अभियानले, आन्दोलनबाट आहत जनतालाई फेरि पनि गाउँपालिकाको सेवा चाँडै सञ्चालन हुने आशा जगाएको छ।














Discussion about this post