सुनसरी — हालैको ‘जेन–जी आन्दोलन’का क्रममा भदौ २३ र २४ गते भएको आगजनी र तोडफोडबाट प्रभावित भएको भोक्राहा नरसिंह गाउँपालिकाले लुटिएका सामान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ। गाउँपालिका कार्यालय र वडा कार्यालयहरूबाट मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर, टिभी, मोबाइल, सिसिटिभी क्यामेरा, कुर्सी, टेबल, बायोमेट्रिक डिभाइस, सिसा, मोटर, पंखा, र अन्य आवश्यक कार्यालय सामग्रीहरु चोरी भएका छन्।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भए अनुसार, चोरी वा जोगाउनका लागि लगिएको सामग्री फिर्ता गर्न अनुरोध गरिएको छ। यसअघि गाउँपालिकाको आधिकारिक फेसबुक पेजमा पनि “आगजनीबाट बचाउन लगिदिनुभएको सामान सुरक्षित साथ फिर्ता गरिदिनुहुन अनुरोध छ। हजुरको फेस पनि क्लियर छ है” भनेर सूचनासहित नागरिकलाई सचेत गराइएको थियो।
सूचनामा भनिएको छ, “उक्त सामग्री कसैको घरमा भेटिए वा जानकारी भए तत्काल सम्बन्धित निकायलाई खबर गर्नुपर्नेछ। जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने छ।” साथै नागरिकलाई गाउँपालिकाको पुनः सञ्चालनमा सहयोग गर्न अपील गरिएको छ।
भदौ २४ गते भएको विध्वंसात्मक आन्दोलनले देशभरका सरकारी कार्यालयहरूमा ठूलो क्षति पुर्याएको थियो। भोक्राहा नरसिंह गाउँपालिकाबाट मात्र लाखौँ मूल्य बराबरका उपकरण र सामग्री लुटपाट भएको अनुमान गरिएको छ। गाउँपालिकाले सम्पर्क नम्बर (९८०५८२३०००, ९८४२९५५५५५) सार्वजनिक गर्दै नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।
साथै उक्त घटनालाई जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीले गम्भीर रूपमा लिएको छ र दोषी पहिचान तथा कारबाहीका लागि अनुसन्धान भइरहेको प्रजिअ धमेन्द्र मिश्राले जानकारी दिएको छ।










Discussion about this post