काठमाडौँ — सरकारले ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकहरूको सम्मानमा असोज १ गते (बुधबार) नेपालभर सार्वजनिक बिदा दिने भएको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सरकारले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको जनाएका छन्। सो दिन नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान, शैक्षिक संस्था, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुनेछ भने राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
सरकारको भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जलीस्वरूप सो निर्णय गरिएको उल्लेख सूचनामा गरिएको छ।
गृह मन्त्रालयले मृतकप्रति सम्मान प्रकट गर्न सम्पूर्ण नागरिकलाई राष्ट्रिय शोक दिवसमा सहभागी हुन आह्वान गरेको छ।










Discussion about this post