जनकपुर — धनुषाको जनकपुरमा भएको अराजक घटनामा संलग्न दुई जना पक्राउ परेका छन्। ‘Gen Z’ आन्दोलनको नाममा गत २०८२ भदौ २४ गते जनकपुर उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा ५०–६० जनाको भीड प्रवेश गरी तोडफोड, आगजनी र लुटपाट गरेको थियो।
उक्त घटनामा आक्रमणकारीहरूले कार्यालयमा रहेका गाडी, मोटरसाइकल, सिसिटिभी क्यामेरा लगायत संरचनामा तोडफोड गरेका थिए भने सुरक्षार्थ खटिएका प्रहरीकै S.L.R राइफल थान–१ र ५० राउण्ड गोली समेत लुटिएको थियो।
घटनापछि सुरु गरिएको अनुसन्धानका क्रममा विभिन्न स्थानका सिसिटिभी फुटेज विश्लेषण गरेर आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरिएको हो। त्यसैको आधारमा मिति २०८२ भदौ ३० गते बिहान ११ बजे जनकपुर–९ का ३७ वर्षीय मनिष कुमार अधिकारी (गणेश यादवका छोरा) र २१ वर्षीय सन्तोष कुमार यादव (राजकिशोर यादवका छोरा) लाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकासँगै लुटिएको S.L.R राइफल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। हाल दुवैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अराजक गतिविधि नियन्त्रणमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। तर घटनाले जनकपुरमा मात्र नभई सम्पूर्ण प्रदेशमै सुरक्षा चुनौती थप गम्भीर बनेको भन्दै सुरक्षा सतर्कता बढाइएको छ।










Discussion about this post