इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको ५० सैय्याको अस्पतालको नाम सुन्दा सायद कसैलाई आशा जाग्छ, “अब त सुविधायुक्त उपचार पाउँछु होला” भन्ने। तर भित्र पस्नेबित्तिकै देखिने वास्तविकता भने डर लाग्दो छ — सेवासुविधा न्यून, उपचार असहज र विरामीलाई अन्ततः रेफर गर्ने हब मात्र बनेको अवस्था।
सामान्य रोगीले पनि उपचार पाउन हैरान हुनु पर्ने, चिकित्सकको कमी, उपकरणको अभाव र दशकौं अघिको दरबन्दीमै अड्किएको कर्मचारी संख्या हेर्दा प्रश्न उठ्छ — यो अस्पताल आखिर कहिले सुधारिन्छ? नेपाल सरकारले स्वास्थ्य बीमा सुविधा उपलब्ध गराए पनि इनरुवा अस्पतालमा त्यस्तो सुविधा खोज्नुअघि नै निराशा बोकेर फर्कनुपर्ने अवस्था छ।
बर्थिङ दर घट्दै गएको छ, किनभने प्रसूति सेवामा भरोसा गर्ने वातावरण छैन। विशेषज्ञ डाक्टरहरू टिक्न सक्दैनन्, संरचना प्राथमिक उपचारको अस्पताल जस्तै मात्र। “न त यहाँ राम्रो प्रसूति सेवा, न त आपत्कालीन अवस्थामा भर पर्न सक्ने सुविधा, अन्ततः बिरामीलाई विराटनगर वा धरान पठाउने मात्रै,” स्थानीयको गुनासो छ।
इनरुवा, भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी र वरिपरिका स्थानीयवासीको मुख्य आधार यही अस्पताल हो। तर सेवाको स्तर हेर्दा जनताले प्रश्न गरेका छन् — यस क्षेत्रमा जनसंख्या तीव्र गतिमा बढ्दो छ, तर चिकित्सकको संख्या किन बढाइँदैन? दशकौं अगाडि बनाइएको दरबन्दीमा किन आज पनि काम चलाउन खोजिन्छ?
इनरुवावासीका लागि यो अस्पताल आशाको दियो होइन, निराशाको प्रतीक बन्दै गएको छ। प्रदेश र संघीय सरकारले स्वास्थ्य क्षेत्रको प्राथमिकता भन्दै भाषण गरिरहे पनि, सदरमुकामकै अस्पतालको यो दयनीय अवस्था देख्दा मानिसलाई “५० सैय्या” भन्ने नाम रमाइलो मात्र लाग्छ, तर भित्र पस्दा आँसु झर्ने अवस्था झल्किन्छ।










Discussion about this post