सुनसरी – काठमाडौं महानगरपालिकाले देशभरका दुर्गम र स्वास्थ्य सुविधा अभावमा रहेका ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गरेको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पहिलो चरणमा चयन गरिएका गाउँपालिका/स्वास्थ्य चौकीलाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीका अनुसार, एम्बुलेन्स वितरणका लागि पूर्वघोषित मापदण्डअनुसार आवेदन आमन्त्रण गरिएको थियो। आएका आवेदनमध्ये स्वास्थ्य सेवा सुविधामा पछाडि परेका तथा दुर्गम भौगोलिक अवस्थाका स्थानीय तहलाई प्राथमिकता दिइएको हो। “सातै प्रदेशलाई समेटेर ३५ वटा गाउँपालिका तथा स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपलब्ध गराइएको छ,” उनले जानकारी दिए।
एम्बुलेन्स प्राप्त गर्ने ३५ स्थानीय तहमध्ये सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका पनि समावेश छ। यो गाउँपालिकाका साथै कालीकोटको स्वास्थ चौकी राकु, रोल्पाको ओखरकोट, डोटीको ढकारी, बाजुराको कुडिया, रुकुम, म्याग्दी, खोटाङ, गोरखा, धादिङ, सिन्धुपाल्चोक लगायत देशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकी तथा आधारभूत अस्पतालहरूले एम्बुलेन्स प्राप्त गरेका छन्।
यता एम्बुलेन्स प्राप्त भएपछि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले काठमाडौं महानगर र मेयर बालेन शाहप्रति आभार व्यक्त गर्दै भने, “हाम्रो गाउँपालिकाका जनताले आकस्मिक अवस्थामा अस्पताल पुर्याउन निकै कठिनाइ व्यहोर्नुपर्थ्यो। आजबाट त्यस्तो पीडा धेरै हदसम्म कम हुने विश्वास गरेका छौं। यो एम्बुलेन्सले गाउँकै नागरिकलाई जीवनरक्षक सेवा पुर्याउनेछ।”
काठमाडौं महानगरपालिकाको पहल ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सबलीकरणतर्फको सकारात्मक कदमका रूपमा लिइएको छ। प्राप्त एम्बुलेन्सहरूले दुर्गम गाउँपालिकाका नागरिकलाई आकस्मिक उपचारमा ठूलो राहत पुर्याउने अपेक्षा गरिएको छ।










Discussion about this post