इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा विजयादशमी २०८२ सालको अवसर पारेर विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरूले विजयादशमीको सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पार्दै आपसी सद्भाव, मेलमिलाप र सहकार्यकै माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
अध्यक्ष अजमल अख्तर आजादले शुभकामना मन्तव्य व्यक्त गर्दै दशैंले सबैमा नयाँ उत्साह र उमंग जगाउने विश्वास व्यक्त गरे। उनले स्थानीय सरकारलाई प्रभावकारी बनाउन र सेवा प्रवाहलाई जनमैत्री बनाउनेतर्फ सबैको सहयोग आवश्यक रहेको बताए।
कार्यक्रमसँगै गाउँपालिकाले एम्बुलेन्स सेवा शुभारम्भ गरेको छ। यसले गाउँपालिकाभित्र आकस्मिक स्वास्थ्य सेवामा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ।
स्थानीय सहभागिता र भव्य वातावरणमा सम्पन्न कार्यक्रमले आपसी सम्बन्ध सुदृढ गर्ने मात्र नभई सामुदायिक सहकार्यलाई अझ मजबुत बनाएको सहभागीहरूको धारणा थियो।










Discussion about this post