चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका कार्यालय, चिरौलीले एक विशेष कार्यक्रमका बीच एम्बुलेन्स सेवाको औपचारिक उद्घाटन गरेको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षता रहेको थियो भने कोशी प्रदेशसभा सदस्य इस्राइल मंसुरी प्रमुख अतिथि रहेका थिए। उद्घाटन समारोहमा विभिन्न वडाका वडाध्यक्षहरू— धिरेन्द्र यादव, हारूण अंसारी, हबिब मंसुरी, सेराजुदिन अंसारी, बौवालाल यादव, हाजी उस्मान अंसारीसहितका जनप्रतिनिधि तथा नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष हेमनारायण मण्डलको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अजमल अख्तर आजादले पालिकावासीहरूलाई सहज र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताए। उनले २४ घण्टा निरन्तर सञ्चालन हुने एम्बुलेन्स सेवाबाट सर्वसाधारणले ५० प्रतिशत भाडा छुट पाउने व्यवस्था गरिएको जानकारी दिए। “यो सेवा पालिकावासीका लागि आपत्कालीन अवस्थामा जीवनरक्षक साबित हुनेछ,” अध्यक्ष आजादले बताए।
त्यसैगरी, स्वास्थ्य शाखा प्रमुख हिरालाल शाहले हाल पालिकामा थप एम्बुलेन्सहरूको आवश्यकता रहेको उल्लेख गर्दै, उपलब्ध एम्बुलेन्सलाई दुरुपयोग हुन नदिई अधिकतम लाभ जनताले पाउने गरी निरन्तर सेवा दिने प्रतिवद्धता जनाए।
एम्बुलेन्स उद्घाटनसँगै स्थानीयवासीहरूमा खुशीको माहोल देखिएको थियो। सहभागीहरूले पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको यो पहललाई प्रशंसनीय भन्दै, भविष्यमा पनि यस्तै जनमैत्री कार्यक्रम ल्याउन आग्रह गरेका थिए।










Discussion about this post