इनरुवा – निजी विद्यालयका नाममा सुरक्षित शिक्षा दिने भनिएका संस्थामध्ये स्मल हेभेन एकेडेमीमा भएको पछिल्लो घटना सुन्दा जो–कोही चकित र आक्रोशित बन्नेछन्। कक्षा १२ का समन्वयक तथा शिक्षक हरेराम मिश्रमाथि आफ्नै पूर्वविद्यार्थीलाई अश्लील सन्देश पठाउने मात्र नभई, भिडियो कलमा गोप्य अंग देखाउनेसम्मको जघन्य आरोप लागेको छ।
पीडित छात्राले बताएअनुसार, मिश्रले लामो समयदेखि मोबाइलमार्फत अश्लील सामग्री पठाउँदै आएका थिए। सुरुमा ब्लक गरे पनि नयाँ नम्बर प्रयोग गरी निरन्तर सम्पर्क गर्दै, अन्ततः ‘पार्टी रुम’मा बोलाउने र भिडियो कलमार्फत आपत्तिजनक गतिविधि देखाउनेसम्म पुगेका थिए। धम्की र डर देखाएर मौन बस्न बाध्य पार्ने प्रयास भएको दाबी पीडित पक्षले गरेको छ।
घटना बाहिरिएसँगै कलेजका विद्यार्थी र स्थानीय युवाहरू आक्रोशित बने। सत्यतथ्य बुझ्न गएका उनीहरूलाई मिश्रले उल्टै धाकधम्की दिने प्रयास गर्दा स्थिति नियन्त्रणबाहिर पुग्यो। विद्यार्थी–समूहले उनलाई कलेजमै कुटपिट गरेपछि अन्य शिक्षकहरूले बीचबचाव गरी थामथुम गरेका थिए। कुटपिटबाट मिश्रको टाउकोमा चोट लागेकाे बताइएको छ।
खबर पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली विद्यालय पुगेको थियो। प्रहरीले मिश्रलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धानका लागि कार्यालयतर्फ ल्याएको छ। प्रारम्भिक अनुसन्धान अघि बढाइरहेको र कानुनी प्रक्रिया सुरु गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
स्थानीय स्रोतका अनुसार, विद्यालय प्रशासन र केही शिक्षकले घटना मिलाउने प्रयास गरेको आशंका बढेको छ। पीडितलाई चुप पार्न दबाब दिइएको, साथै विभिन्न अफवाह फैलाइएको भनाइ पनि आएको छ। अझैसम्म निजी विद्यालय संगठन (पाब्सन इनरुवा)ले कुनै स्पष्ट प्रतिक्रिया नदिएकोले विद्यार्थी सुरक्षा प्रतिको उनीहरूको जिम्मेवारीमा प्रश्न उठाइएको छ।
यस घटनाले इनरुवामा मात्र होइन, सुनसरीकै अभिभावकलाई असुरक्षित बनाएको छ। पहिले पनि यस्ता गुनासोहरू विभिन्न निजी विद्यालयबाट आइरहेको बताइँदै आएको छ। शिक्षा दिने ठाउँमै यस्ता अनैतिक गतिविधि हुनु, अझ शिक्षककै संलग्नतामा हुनु, अभिभावक र विद्यार्थी दुवैका लागि कहालीलाग्दो र अस्वीकार्य अवस्था बनेको छ।
विद्यार्थी, अभिभावक र स्थानीय युवाहरूले यस्तो अपराधमा संलग्न व्यक्तिलाई कुनै हालतमा उम्कन नदिने माग गरेका छन्। उनीहरूको भनाइमा, शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरूले विद्यार्थीको सुरक्षा, अधिकार र भविष्यलाई बर्बाद पार्ने व्यवहार गरेकाले, सम्बन्धित निकाय र विद्यालय व्यवस्थापनले कठोर कदम चाल्नुपर्छ।














Discussion about this post