सुनसरी । सुनसरीका विभिन्न स्थानमा प्रहरीले ठूलो परिमाणमा अवैध आतसबाजी (पटका) बरामद गरेको छ। चाडपर्वको समयमा ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा गरिएको प्रहरी अपरेसनमा करिब २ लाख ६० हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका आतसबाजी बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २१, २२ र २३ गते लगातार तीन दिनसम्म जिल्लाका विभिन्न क्षेत्रमा चेकजाँच र खानतलासीका क्रममा लुकाइ–छिपाइ राखिएका पटकाहरू फेला परेका हुन्। अपरेसनमा जिल्ला प्रहरी कार्यालयका साथै मातहतका प्रहरी इकाइका टोलीहरू समेत सहभागी थिए।
बरामद गरिएका आतसबाजीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार आतसबाजीको अवैध कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान तथा नियन्त्रणका लागि खोजतलासी जारी रहेको छ।
प्रहरीले चाडपर्वको बेला अवैध आतसबाजीको प्रयोगले आगलागी र मानव क्षतिको जोखिम बढाउने भएकाले यस प्रकारका सामानको खरिद–बिक्री र प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।










Discussion about this post