रन्धिर यादव/ इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ स्थित ऐतिहासिक काली मन्दिर परिसरमा यस वर्षको तिहार मेलाका लागि तयारी धमाधम भइरहेको छ। सयौं वर्षदेखि निरन्तर चल्दै आएको यो मेला धार्मिक, सांस्कृतिक र सामुदायिक एकताको प्रतीकका रूपमा परिचित रहँदै आएको छ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले मेला तयारीको निरीक्षण गर्दै स्थानीयहरूसँगको भेटमा भन्नुभयो —
“धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्नु हाम्रो साझा दायित्व हो। भाेक्राहा नरसिंहको ऐतिहासिक कुस्ती खेल केवल मनोरञ्जन होइन, यो हाम्रो गौरव र पहिचान हो। गाउँपालिकाले यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तर सहयोग र प्रोत्साहन दिइरहनेछ।”
काली मन्दिर मेला समितिका अध्यक्ष सचेन्द्र यादवका अनुसार, यो मेला सयौं वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको हो। उहाँले भन्नुभयो —
“काली मन्दिरको यो मेला केवल धार्मिक कार्यक्रम होइन, यो हाम्रो संस्कृतिको जीवनरेखा हो। विगतमा यो मेलामा नेपालका विभिन्न जिल्लासँगै भारतका अररिया, सुपौल, सहरसा जस्ता स्थानबाट समेत हजारौं दर्शक आउँथे। अहिले पनि मेला तयारी जोरसँग भइरहेको छ।”
वडा नं. ७ का वडाध्यक्ष बौवालाल यादवले भने,
“यो मेला हाम्रो गाउँको पहिचान हो। स्थानीयवासी, युवादल र विभिन्न संघसंस्थाको सहयोगमा यस वर्ष पनि मेलालाई भव्य रूपमा मनाउने तयारी भएको छ। कुस्ती, नाचगान, सांस्कृतिक कार्यक्रम र धार्मिक झाँकीले मेला अझ आकर्षक बन्नेछ।”
यस वर्ष पनि मेलामा तीन दिनसम्म विविध कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ। मेला समितिका अनुसार, कुस्ती प्रतियोगिता, साँस्कृतिक प्रस्तुति, धार्मिक झाँकी, स्थानीय उत्पादन प्रदर्शनी र बालबालिकाका मनोरञ्जनात्मक खेल कार्यक्रमहरू रहनेछन्।तरुण दलका युवा नेता पंकज यादवका अनुसार, पछिल्ला वर्षहरूमा युवापुस्ताको कुस्तीप्रतिको रुचि केही घटेको देखिएको छ। उहाँले बताए —
“पहिला २५–३० हजार दर्शक कुस्ती हेर्न आउने गर्थे, तर अहिले त्यो संख्या घटेर करिब १७ हजारमा झरेको अनुमान छ। यद्यपि, मेला र साँस्कृतिक कार्यक्रममा स्थानीय युवाको सहभागिता भने बढ्दै गएको छ।”
गाउँपालिकाले मेला सफल बनाउन आवश्यक सुरक्षा, सरसफाइ र मन्दिर रंगरोगन तथा लाइट व्यवस्थापनका लागि विशेष योजना तयार पारेको छ।










Discussion about this post