विराटनगर । विराटनगरको बरगाछी क्षेत्रमा प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको सयपत्री फूलका माला सहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ। तिहारलाई लक्षित गर्दै ल्याइँदै गरिएको उक्त फूलमा फर्मालिन प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ।
सुनसरी देवानगञ्ज गाउँपालिका–२ का चालक सतनारायण यादवले चलाइरहेको को २ च १६३४ नम्बरको पिकअप गाडीबाट प्रहरीले जाँचका क्रममा करीब एक लाख २० हजार रुपैयाँ बराबरका सात हजार फूलमाला फेला पारेको थियो।
त्यसै क्रममा गाडीमा ७० केजी बन्डेड तार समेत बरामद भएको र त्यसको भन्सार बिल तथा अन्य कागजात प्रस्तुत गर्न चालक असफल भएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरी कार्यालयकी प्रवक्ता कोपिला चुँडालका अनुसार नियन्त्रणमा लिइएको गाडी र बरामद सामग्री थप अनुसन्धानका लागि राजस्व (भन्सार) कार्यालयमा बुझाइएको छ।
प्रहरीले तिहार नजिकिँदै गर्दा भारतबाट फर्मालिन प्रयोग गरिएको फूलको अवैध कारोबार बढेको भन्दै सर्वसाधारणलाई पनि सचेत रहन आग्रह गरेको छ।










Discussion about this post