मोरङ । संघीय राजधानी काठमाडौं बाहिर पहिलो पटक सरकारी अस्पतालले निःसन्तान उपचार सेवा सुरु गरेको छ । मोरङस्थित एक सरकारी अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालनमा आएको यो सेवा दैनिक १० देखि १५ दम्पतीका लागि नयाँ आशाको केन्द्र बनेको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुणा झाका अनुसार सेवा सुरु भएपछि निजी अस्पतालमा महँगो शुल्क तिर्न नसक्ने न्यून आय भएका दम्पतीहरूका लागि ठूलो राहत भएको छ ।
उनी भन्छिन्, “निःसन्तानता केवल स्वास्थ्य समस्या मात्र होइन, समाजमा गम्भीर मानसिक र सामाजिक दबाबको कारण हो । सरकारी स्तरमै यस्तो उपचार सेवा उपलब्ध हुँदा धेरै परिवारले नयाँ जीवनको आशा देखेका छन् ।”
हाल क्लिनिकले प्रारम्भिक परीक्षण, परामर्श र औषधोपचार सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार सेवा विस्तारसँगै आधुनिक प्रविधि प्रयोग गरी गर्भाधानसम्बन्धी थप परीक्षण र उपचारसमेत सुरु गर्ने तयारी भइरहेको छ ।
यसअघि निःसन्तान उपचार सेवा काठमाडौंका ठूला निजी अस्पतालहरूमा मात्र सीमित थियो । तर, सरकारी अस्पतालमा सेवा विस्तार भएपछि ग्रामीण तथा मध्यम वर्गीय दम्पतीहरू पनि सहज रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
डा. झालले थप भनिन्, “हामी अब प्रजनन स्वास्थ्यका सबै पक्ष समेट्दै ग्रामीण भेगका महिलासम्म सेवा पुर्याउने योजनामा छौं ।”










Discussion about this post