सुनसरी । असोज १८ देखि २० गतेसम्म लगातार परेको अविरल वर्षाले हरीनगर गाउँपालिकाको कृषिक्षेत्रमा व्यापक क्षति पुर्याएको छ । गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्मका किसानहरू बाढी र डुबानको प्रभावमा परेका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार करिब ८६५ हेक्टरमा लगाइएको धानबाली, ५२० हेक्टरमा लगाइएका तरकारी र १५० हेक्टरमा रहेको केराको बगान बाढीको चपेटामा परेका छन् । लगातारको वर्षाले खेतमा पानी जम्दा धान पाक्ने क्रममा नै नष्ट भएको छ भने धेरै ठाउँमा तरकारी सड्न थालेका छन् ।
स्थानीय किसानहरूको भनाइ अनुसार बाढीका कारण बाली पूर्ण रूपमा डुबानमा परेपछि उनीहरूको वर्षभरको मेहनत खेर गएको छ । किसान रामलाल यादवले भने, “धान पाक्न लागेको थियो, तर पानीले सबै बगायो, अब त हातमा केही बाँकी छैन।”
गाउँपालिकाले प्रारम्भिक क्षति विवरण संकलनको कार्य सुरु गरेको छ । गाउँपालिका अध्यक्षका अनुसार प्रभावित किसानहरूलाई राहत वितरण र आगामी मौसमी खेती पुनः सुरु गर्नका लागि आवश्यक सहयोगका कार्यक्रम अघि सारिने तयारी भइरहेको छ ।
यसैबीच, नहर र साना खोल्साहरूमा पानीको सतह बढेपछि बाढीले केही बस्तीहरूमा पनि प्रवेश गरेको स्थानीयहरूले बताएका छन् । गाउँपालिका भित्रको यो क्षतिले यस वर्षको कृषि उत्पादनमा ठूलो असर पार्ने अनुमान गरिएको छ ।
सुनसरीमा मतदाता नाम दर्ताका लागि भीड, जेनजी पुस्ताको उत्साहजनक सहभागिता
सुनसरी — आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउने सर्वसाधारणको भीड बढेको छ। विशेषगरी जेनजी पुस्ताका युवाहरूको...










Discussion about this post