इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर ‘आजाद’ ले आज वडा नम्बर ५ का विभिन्न क्षेत्रमा स्थलगत अनुगमन गर्दै स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणसँग विकास र जनगुनासो सम्बन्धी छलफल गर्नुभएको छ।
हालै सुनसरी खोलामा आएको बाढीका कारण विद्यालय, मदरसा, मन्दिर, मस्जिद तथा स्थानीय बाटोघाटोमा भएको क्षति गम्भीर रहेको भन्दै अध्यक्ष आजादले प्रभावित क्षेत्रमा पुगेर अवस्था अवलोकन गर्नुभएको हो।
अध्यक्ष आजादले भने, “गाउँपालिकाले विकासका सबै कामलाई जनताको आवश्यकता, प्राथमिकता र मागअनुसार अघि बढाइरहेको छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितका लागि कार्य गर्ने प्रतिबद्धता मैले सधैं पालेको छु। बाढीले परेको क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल मर्मत–सम्भार तथा पुनर्निर्माणका प्रक्रिया अगाडि बढाइनेछ।”
स्थानीयवासीहरूले विद्यालयको कक्षा कोठा, धार्मिक संरचना तथा सडक क्षतिग्रस्त भएपछि आवत–जावतमा समस्या भएको गुनासो राखेका थिए। अध्यक्ष आजादले गाउँपालिकाको प्राविधिक टोलीमार्फत हरेक क्षतिग्रस्त क्षेत्रको नक्सांकन र लागत अनुमान तयार गरी छिट्टै बजेट व्यवस्थापनको पहल गर्ने बताउनुभयो।
यसैबीच, छलफलमा सहभागी जनप्रतिनिधि र स्थानीय बुद्धिजीवीहरूले गाउँपालिकाले पछिल्ला वर्षहरूमा स्वास्थ्य, शिक्षा, खानेपानी तथा पूर्वाधार सुधारमा गरेका प्रयासको प्रशंसा गर्दै पहिले प्रभावित, पहिले राहत र विकासको निरन्तरताको पक्षमा ध्यान दिन सुझाव दिएका थिए।
गाउँपालिकाले बाढीपीडित क्षेत्रका किसान र प्रभावित समुदायका लागि राहत वितरण, संरचना पुनर्स्थापना तथा भविष्यमा क्षति न्यूनिकरणका उपायहरूमा पनि ध्यान दिइने जनाएको छ।










Discussion about this post