सुनसरी / भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादकाे निर्देशनमा छठ पर्वका लागि गाउँपालिकाभित्रका सबै छठ घाटहरूको निर्माण तथा मर्मत कार्य तीव्र रूपमा जारी छ। अध्यक्ष आजादज्यूको पहलमा पालिकाबाट जेसिभी सहितका उपकरणहरू सम्बन्धित वडाध्यक्षहरूको रोहवरमा पठाई घाट निर्माणमा सहयोग प्रदान गरिएको जिन्सी शाखाका प्रमुख हिरा साहले जानकारी दिए।
उनका अनुसार पालिकाका ८ वटै वडामा छठ पर्वका श्रद्धालुहरूलाई सुरक्षित र व्यवस्थित रूपमा पूजा–अर्चना गर्न सकिने वातावरण तयार पार्ने उद्देश्यले घाट निर्माण, बाटो सम्याउने, पोखरी तथा नदी किनार सफाइ र सुरक्षा व्यवस्थासहितका काम भइरहेको छ।
त्यसैगरी वडा नम्बर ७ का वडाध्यक्ष बैवालाल यादवले आफ्नो वडा लगायत पालिकाका अन्य वडामा १७ सयभन्दा बढी छठ घाटहरूको सरसफाइ, सफ्टिकरण तथा संरचना निर्माण कार्य पूरा भइसकेको वा अन्तिम चरणमा रहेको जानकारी दिए। उनका अनुसार स्थानीय वडास्तरमा गठन भएका छठ समितिहरू, युवाहरू, स्वयंसेवक तथा समाजसेवीहरूको सक्रिय सहयोगमा कार्यलाई अझ प्रभावकारी ढंगले अघि बढाइएको छ।
गाउँपालिका अध्यक्ष आजादले छठ पर्व आपसी सद्भाव, आस्था र संस्कृतिको प्रतीक भएको बताउँदै,
“छठी मइया प्रति श्रद्धा राख्ने हाम्रा दिदीबहिनी र आमाहरूले निश्चिन्त र सुरक्षित वातावरणमा पूजा–अर्चना गर्न सकून् भन्ने हाम्रो प्राथमिकता हो,” भनेर बताए।
यता भाेक्राहा नरसिंह गाउँपालिकामा यस वर्ष छठ पर्व अत्यन्त श्रद्धा, मर्यादा र उत्साहपूर्वक मनाइने तयारी पूरा भएको आयोजक पक्षले जनाएको छ।










Discussion about this post