विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिकको माग गर्दै नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरू पुनः आन्दोलनमा उत्रिएका छन्। बिहानैदेखि अस्पताल परिसरमा ‘धम्की र श्रमशोषण बन्द गर’, ‘सरकारको मापदण्ड लागू गर’ जस्ता नारासहित उनीहरूले प्रदर्शन थालेका हुन्।
यसअघि पनि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले माग पूरा गर्न कार्तिक १८ गतेसम्मको समयसीमा दिएका थिए। तर अस्पताल प्रशासनले कुनै ठोस कदम नचालेपछि उनीहरू पुनः विरोधमा उत्रिएका हुन्। आन्दोलनको अगुवाइ गरिरहेकी स्वास्थ्यकर्मी स्वाती देवका अनुसार प्रशासनले मागहरू बेवास्ता गरेपछि आन्दोलन अपरिहार्य बनेको हो।
उनले भनिन्, “हाम्रा मागहरूप्रति अस्पताल प्रशासनले कुनै सुनुवाइ गरेन। त्यसैले हामी पुनः आन्दोलनमा होमिएका छौँ। अहिले आकस्मिक र आइसियूबाहेकका सबै सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूले काम रोकेका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।”
स्वास्थ्यकर्मीहरूको मुख्य माग सरकारले तोकेको न्यूनतम तलब लागू गर्नुपर्ने रहेको छ। यता अस्पताल प्रशासनले भने वार्ताका लागि स्वास्थ्यकर्मीहरूलाई आह्वान गरिएको तर उनीहरू वार्तामा नआएको प्रतिक्रिया दिएको छ।
आन्दोलनका कारण अस्पतालको नियमित सेवा प्रभावित बनेको छ भने बिरामीहरू उपचारका लागि अन्य अस्पतालतर्फ धकेलिन थालेका छन्।











Discussion about this post