विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट सिरहाको एक एम्बुलेन्समा ठूलो परिमाणमा लागूऔषध गाँजा फेला परेको छ । प्रहरीले एम्बुलेन्स चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार जहदा गाउँपालिका–३ हात्तिबन्दा हुँदै दक्षिणतर्फ जाँदै गरेको सिरहाको नेपाल रेडक्रस सोसाइटी, सुखीपुर–१० दहीपौडी उपशाखाको एम्बुलेन्स (नं. स १ च ६५६) बाट ३३ किलो ६१० ग्राम गाँजा बरामद गरिएको हो ।
बुधबार राति करिब १० बजे दक्षिण सीमा क्षेत्रतर्फ बिरामी नबोकी तिरिँदै गरेको एम्बुलेन्स र त्यसको अगाडि स्कटिङ गरिरहेको मोटरसाइकल (को ३१ प ८८८९) लाई प्रहरीले शंका गरी रोकेर चेकजाँच गरेको थियो ।
प्रवक्ता चुँडालका अनुसार एम्बुलेन्सभित्र कालो झोलामा लुकाएर राखिएको अवस्थामा गाँजा भेटिएको हो । ‘यहाँकै एम्बुलेन्स भए बिरामी लिन गएको होला भन्ने हुन्थ्यो, तर बाहिरको एम्बुलेन्स भएकाले शंका लागी चेक गर्दा गाँजा भेटियो,’ उनले भनिन् ।
घटनामा संलग्न एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र स्कटिङ गर्ने जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलीपकुमार राजवंशीलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार भारततर्फ तस्करी गर्ने उद्देश्यले एम्बुलेन्समार्फत गाँजा ओसारपसार गरिएको हुनसक्ने आशंका छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










Discussion about this post