रन्धिर यादव /सुनसरी — जनता नजिकको प्रहरीका रूपमा पहिचान बनाएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) योगराज खतिवडाको आकस्मिक सरुवाले जिल्लामा मिश्र प्रतिक्रिया देखिएको छ। जनताको सुखदुःखमा साथ दिने, पीडितका आवाज सुन्ने र तत्काल समाधान खोज्ने प्रहरी अधिकृतका रूपमा परिचित खतिवडालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर काज सरुवा गरिएको हो।
केही महिनामै जनताको विश्वास जितेका डिएसपी खतिवडाको सरुवालाई स्थानीयहरू र प्रहरी वृत्तकै धेरैजसोले ‘अन्यायपूर्ण निर्णय’ भनेका छन्। उनी सुनसरीमा रहँदा गाउँ–बस्ती र सहरका समस्या बुझ्न प्रत्यक्ष रूपमा घटनास्थलमा पुग्ने गर्थे। पीडित, निमुखा र गरिब वर्गका मुद्दा तत्काल दर्ता गरेर न्याय दिलाउने उनी प्रहरी सेवामा जनमुखी दृष्टिकोणका प्रतीकका रूपमा चिनिन थालेका थिए।
प्रहरीका एक स्रोतका अनुसार खतिवडाको सरुवामा केही प्रशासनिक असहमति र व्यक्तिगत मतभेदले भूमिका खेलेको हो। “उनी इमानदार र निडर अधिकारी हुन्। कसैको दबाबमा नपर्ने स्वभावकै कारण केहीले उनलाई असहज महसुस गरे,” स्रोतले भने।
स्थानीय नागरिकले पनि डिएसपी खतिवडाको सरुवाप्रति असन्तोष जनाएका छन्। भाेक्राहा नरसिंह ७ का सामाजिक अगुवा बाैवालाल यादवले भने, “खतिवडा सरले जनताको समस्या सुन्ने र तुरुन्तै कदम चाल्ने बानीले प्रहरीप्रति भरोसा बढाएका थिए। यस्ता जनमुखी अधिकारीलाई हटाउनु दुर्भाग्यपूर्ण निर्णय हो।”
उनको कार्यकालमा सुनसरीमा चोरी, लागूऔषध नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आएको प्रहरी तथ्याङ्कले देखाउँछ। साथै उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सक्रिय बनाउँदै विद्यालयदेखि बजारसम्म जनचेतना अभियान चलाएका थिए।
प्रहरी संगठनभित्र पनि खतिवडाको कार्यशैली इमानदार, स्पष्ट र जनहितमुखी भएको मानिन्छ। धेरैको बुझाइमा, उनी सरुवा होइन, सम्मानका हकदार थिए।
अब उनी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत हुनेछन्। स्थानीय नागरिक र प्रहरी सेवाग्राहीले भने आशा व्यक्त गरेका छन् कि “जहाँ भए पनि खतिवडा सर जनताको आवाज बनेर काम गर्न जारी राख्नेछन्।”










Discussion about this post