सुनसरी । इटहरी–२ निवासी ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव सर्दु जलाधारस्थित खोल्सामा शङ्कास्पद अवस्थामा फेला परेको छ।२४ कार्तिक बिहान साढे ८ बजे घरबाट निस्केकी मञ्जु नफर्केपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी निवेदन दिएको थियो।
खोजीका क्रममा २७ कार्तिकमा धरान–४ बौद्ध विहार नजिक रातो लेडीज स्विटर, कालो चप्पल, खैरो ब्याग सहित उनका व्यक्तिगत सामान भेटिएको थियो। इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको सर्दु क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम भूभागमा पर्छ।
भौगोलिक अवस्था, शवको स्थिति र भेटिएका सामग्रीबीचको मेल शंकास्पद देखिएको उनले बताए।प्रहरीले घटनास्थलको मुचुल्का उठाई शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोष्टमार्टमका लागि पठाइसकेको छ।पोष्टमार्टम रिपोर्टपछि घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।










Discussion about this post