विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर सोमबार वाम एकताको आवाजले गुञ्जियो। नेपाली कम्युनिष्ट पार्टीले आयोजना गरेको ‘पार्टी एकता सन्देश सभा’मा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच एकताको खुला सन्देश झल्कियो।
सभामा प्रचण्डले मुलुक गम्भीर मोडमा रहेको भन्दै “राष्ट्रिय स्वाधीनता रक्षा वाम एकताको मेरुदण्ड हो” भनेर जोड दिए। सम्राज्यवादविरुद्ध लड्न जनता स्वयं फौजी जस्तै उभिनुपर्ने टिप्पणी उनकाे मुख्य आकर्षण रह्यो। राष्ट्रपति पौडेलसमक्ष अन्तरिम सरकारको सहमति दिएको प्रसंग समेत स्मरण गर्दै उनले निर्वाचन समयमै, स्वतन्त्र र धाँधलीरहित गराउन सरकार सक्षम हुनुपर्ने बताए।

माधवकुमार नेपालले वाम एकतालाई जनताको पहिचान, समानुपातिक अधिकार र सामाजिक न्यायसँग जोड्दै यसको दीर्घ आवश्यकता रहेको उल्लेख गरे। झलनाथ खनालले विगतका कम्युनिष्ट नेतृत्वले जनअपेक्षा पूरा गर्न नसकेको आत्मसमिक्षा गर्दै आगामी निर्वाचनमा बहुमत पाए भूमि सुधार, कृषि आधुनिकीकरण र औद्योगिकीकरणलाई मुख्य एजेण्डा बनाइने घोषणा गरे।
सङ्घीयता मजबुत पार्ने प्रतिवद्धता नारायणकाजी श्रेष्ठले व्यक्त गरे भने डा. भीम रावलले आर्थिक समृद्धि वाम मोर्चाको साझा लक्ष्य भएको दोहोर्याए। कार्यक्रमको अध्यक्षता कोश संयोजक हरिबोल गजुरेलले गरेका थिए।











Discussion about this post