काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ३) को अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका अपाङ्गता समुदाय, अभिभावक तथा यो क्षेत्रमा सक्रिय संस्थागत साझेदारहरूलाई हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री कार्कीका अनुसार नेपालको संविधान, अन्तर्राष्ट्रिय दायित्व तथा प्रचलित कानुनहरूले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई मजबुत संरक्षण प्रदान गरेका छन्। उनले राज्यको नीतिमा अपाङ्गता भएका व्यक्तिका अवस्था र आवश्यकता अनुसार सेवा–सुविधामा प्राथमिकता दिने व्यवस्था स्पष्ट रूपमै व्याख्या भएको जनाइन्।
शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पुनःस्थापनाका क्षेत्रमा सहज पहुँच सुनिश्चित गर्न सरकार निरन्तर काम गरिरहेको उल्लेख गर्दै उनले दिगो विकास लक्ष्य (SDGs) प्राप्तिमा अपाङ्गता समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्।
भौतिक संरचनादेखि सामाजिक दृष्टिकोण, सञ्चार प्रणाली र कानुनी अवरोधसम्मका सबै अवरोध हटाई, सम्मानजनक र समावेशी वातावरण निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहको साझा प्रतिबद्धता आवश्यक रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्। यस दिवसले अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकार, समानता र स्वाभिमानसहित अघि बढ्ने प्रेरणा दिएको उनले टिप्पणी गरिन्।










Discussion about this post