सुनसरी । भाेक्राहा नरसिंह गाउँपालिकामा आजदेखि किसानकाे लागि बोरिङ पाइप वितरण कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। लगातार तीन वर्षदेखि कृषि उत्पादनमा सहजता ल्याउने उद्देश्यले पाइप वितरण गर्दै आएको पालिकाले यस वर्ष पनि पहिलो चरणमा वडा नं. १ र वडा नं. ४ का किसानलाई वितरण गरेको हो।
एक समारोहका बीच गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले वडा नं. १ का वडाध्यक्ष तथा वडा नं. ४ का वडाध्यक्षलाई बोरिङ पाइप हस्तान्तरण गर्दै वितरण कार्यक्रम शुरुआत गरेका हुन्। अध्यक्ष आजादले कृषि क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण, सिँचाइ सुविधा विस्तार र किसानलाई राहत दिने योजनाअनुसार यो कार्यक्रम निरन्तर अघि बढाइएको बताए।
कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा स्थानीय किसानहरूले बोरिङ पाइप वितरणले सिँचाइ सहज भएको, उत्पादकत्व बढ्न थालेको र खेतबारीमा पानी पुर्याउन लाग्ने खर्च कम भएको भन्दै खुसी व्यक्त गरे। गाउँपालिकाका अध्यक्ष आजादका अनुसार, “किसानको समस्या समाधान गर्नु र उनीहरूको उत्पादन लागत घटाउनु हाम्रो प्राथमिकता हो। त्यसैले पालिकाले गत तीन वर्षदेखि निरन्तर पाइप वितरण गर्दै आएको छ। बाँकी वडाहरूमा पनि क्रमशः वितरण अघि बढाइनेछ।”
त्यसैगरी बुधबार अन्य वडाहरूमा किसानलाई आवश्यकताअनुसार बोरिङ पाइप उपलब्ध गराउने योजना बनाएको जनाएको छ। स्थानीय किसानहरूको खेतीपातीमैत्री सेवा र सिँचाइ सहजताका लागि पालिकाको यो पहल प्रशंसनीय भएको सरोकारवालाको प्रतिक्रिया रहेको छ।











Discussion about this post