सुनसरी । इटहरी उपमहानगरपालिका–१ स्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा विवाद र कर्मचारी आत्महत्या प्रकरणले हलचल मच्चाएको छ। सहकारीका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी र सेयर सदस्य मनोज दाहाललाई सेयर सदस्यताबाट हटाएको निर्णयविरुद्ध उजुरी परेपछि कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।
संस्थाले मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकमा ‘भ्रामक तथा तथ्यहीन समाचार सम्प्रेषण गरेको’ आरोपमा उनीहरूलाई सदस्यताबाट हटाएको थियो। त्यसविरुद्ध अधिकारी र दाहालले मंसिर २४ गते रजिस्ट्रार कार्यालयमा निवेदन दर्ता गराएका थिए। रजिस्ट्रारले सदस्यता खारेजीको प्रक्रिया, निर्णय र कानुनी आधारबारे प्रमाणसहित जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ।
यसैबीच, कर्मचारी मिश्रले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका थिए। परिवारले सहकारीको दबाब र मानसिक यातनाका कारण मृत्यु भएको बताए। घटनापछि अध्यक्ष ढकालसहित केही कर्मचारीहरू पीडित परिवारलाई भेट्न पुगेका थिए, तर स्थानीयले दुव्र्यवहार गरेका थिए। घटनापछि ढकालले मोबाइल नियन्त्रणमा लिएर सोधपुछ गरेको र मानसिक दबाब दिएको आरोप पनि बाहिर आएको छ।
कारबाहीमा परेका अधिकारी, दाहाल र कर्मचारी तेजप्रसाद सुवेदीले पत्रकार सम्मेलन गरी संस्थामा आर्थिक तथा प्रशासनिक अनियमितताको आरोप लगाएका छन्। उनीहरूले अध्यक्ष ढकालमाथि व्यक्तिगत स्वार्थ र कानुन विपरीत निर्णय गरेको आरोप लगाएका छन्।
संस्थाले भने आरोप–प्रत्यारोप अस्वीकार गर्दै कानुन अनुसार कारबाही गरिएको दाबी गरेको छ। अध्यक्ष ढकालका अनुसार कर्मचारी र सदस्यलाई नियमअनुसार कारबाही गरिएको हो र संस्थाले सबै गतिविधि सहकारी ऐन र नियमअनुसार सञ्चालन गरेको छ।










Discussion about this post